भारतसँग मात्रै ७२ अर्ब बढी व्यापार घाटा



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै उत्साहरुपमा आयात र निर्यात दुबैमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पहिलो महिनामा ७५ प्रतिशतले आयात बढ्दा ११५ प्रतिशतले निर्यात बढेको छ । तर, पनि नेपालले १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्कका अनुसार नेपालले एक महिनाको अवधिमा भारतसँग ७२ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

भारतबाट ८९ अर्ब ४८ करोड ६३ लाख रुपैयाँको आयात गर्र्दा नेपालबाट १६ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । नेपालबाट २० अर्बको निर्यात हुँदा शतप्रतिशत हिस्सा नै भारतको रहेको देखिन्छ ।

त्यस्तै भारतपछि चीनसँगको व्यापारघाटा उच्च छ । साउन मसान्तसम्ममा नेपालले चीनबाट २० अर्ब ९७ करोड ६ लाख रुपैयाँको आयात गर्दा नेपालबाट ८ करोड २७ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । उक्त देशसँग नेपालको व्यापारघाटा २० अर्ब ८८ करोड ७८ लाख रुपैयाँ रहेको छ । जुन नेपालबाट साउन महिनामा निर्यात भएको मूल्य बराबर रहेको छ ।

नेपालले एक महिनाको अवधिमा १ सय २ वटा देशसँग व्यापार गर्दा १४ वटा देशसँग मात्रै घाटा व्यहोरेको छैन । नेपालले १४ वटाबाहेक अन्य सम्पूर्ण देशसँग उच्च घाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले साउन मसान्तसम्ममा अर्जेन्टिनासँग ६ अर्ब ७ करोड, युएईसँग ५ अर्ब ६ करोड ४५ लाख, इन्डोनेशियासँग ४ अर्ब २ करोड १४ लाख, अष्ट्रेलियासँग ३ अर्ब १४ करोड ३१ लाख, परुग्वेसँग १ अर्ब २४ करोड ७३ लाख, क्यानाडासँग १ अर्ब २५ करोड ९२ लाख, ब्राजिसँग १ अर्ब २१ करोड ६३ लाख र हङ्कङसँग १ अर्ब ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।


क्लिकमान्डु