तालिबानको कब्जापछि महंगीको मार, एक बोतलको पानीको ४० र एक प्लेट खाजाको मूल्य १०० डलर



अफगानिस्तानमा तालिबानको कब्जासँगै त्यहाँबाट बाहिर जाने मानिसको संख्या दिनानुदिन बढिरहेको छ । अफगानिस्तान बाहिर जानका लागि एअरपोर्टमा जम्मा भएका मानिसहरुको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ । मानिसहरु काबुल एअरपोर्टमा एक बोतल पानीलाई ४० डलर र एक प्लेट चामललाई १०० डलर तिर्न बाध्य छन् ।

रिपोर्टका अनुसार यो महङ्गीले मानिसहरुको समस्या बढिरहेको छ । अझै समस्याको कुरा के भने खाने पिउने सामानको पैसा अफगानी रुपैयाँ नभएर डलरमा तिर्नुपरेको छ । अफगानिस्तानको मुद्रालाई अफगान अफगानी(एएफएन) भनिन्छ । अहिले १ अमेरिकी डलरको मूल्य ८६ अफगान अफगानी बराबर छ ।

काबुल एअरपोर्टबाहिरका केही फुटेजहरु बाहिर आएका छन् । फुटेजमा मानिसहरु घुँडासम्म पानी र फोहोर भएको ठाउँमा उभिएका देखिन्छन् ।

अफगानी नागरिक फजलुर्रहमानले न्यूज एजेन्सी रोएटर्सलाई बताएका छन् ।

‘मानिसहरु कंक्रिटको पर्खाल र काँडेतार बाहिर उभिएका छन्, कसैले पर्खाल चढ्ने कोशिस गर्यो भने सुरक्षाकर्मीले त्यसलाई उतैतिर धकेल्दिन्छन् । सामानको मूल्य यति बढेको छ कि सर्वसाधारणले मूल्य चुकाउनै सक्दैनन् । अब्दुल रज्जाकले न्यूज एजेन्सीलाई बताएअनुसार मानिसहरु आउनेक्रम रोकिएको छैन । भिड झनझन् बढ्दै गइरहेको छ । यस्तोमा महिला र बालबालिकाको स्थिति झनै नाजुक हुँदै गइरहेको छ ।

यसैबीच एक अमेरिकी सैनिकको फोटो भाइरल भएको छ । फोटोमा उनले अफगानी बच्चालाई पानी खुवाउँदैगरेका देखिन्छन् । बच्चाहरु उनलाई हेरेर हाँसिरहेका छन् । तर यो फोटो अहिलेकै हो अथवा कहिलेको हो भन्ने थाहा छैन । अमेरिकी डिफेन्स डिपार्टमेन्टले यसको पुष्टि गरेको छैन । तर मान्छेहरु भिडियो हेर्दै कठिन परिस्थितिमा पनि आशा कायम रहन्छ भनिरहेका छन् ।

हरेक तीनजनामा एकजना अफगानी भोकोः रिपोर्ट
अफगान संकटकाबीच विश्व खाद्य कार्यक्रमले एउटा रिपोर्ट जारी गरेको छ । सो रिपोर्टअनुसार हरेक तीनमध्ये एउटा अफगानी अर्थात् झण्डै १.४ करोड मानिसहरु भोकै छन् । २० लाख बच्चाहरु कुपोषणको शिकार भएका छन् र यिनीहरुलाई तुरुन्तै मद्दतको खाँचो छ । रिपोर्टमा भनिएको छ, अन्न छैन, वर्षापनि भएको छैन, पिउने पानी पनि छैन, मान्छेहरु गरिबीमा बाँचिरहेका छन् ।


क्लिकमान्डु