महासंघले ‘५० स्टार्टअपः ५० लगानीकर्ता’ कार्यक्रमका लागि आवेदन फेरि खुलायो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आवद्ध हुन इच्छुक नवप्रवर्तन
(स्टार्टअप) उद्यमीका लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुनका लागि फेरि आवेदन माग गरेको छ ।

महासंघले उक्त कार्यक्रममा सहभागी हुनका लागि गत वैशाख ४ गतेदेखि अनलाइनमार्फत् आवेदन माग गरेको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएकाले यो कार्यक्रम फेरी शुरु गरिएको महासंघले जनाएको छ । यसअघि आवेदन दिइसकेकाले फेरी आवेदन दिनुपर्ने छैन । यो कार्यक्रममा सहभागी हुन चाहने सबै क्षेत्रका नवप्रवर्तनले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई सहकार्यको लागि सहजीकरण महासंघअन्तर्गतको स्टार्टअप समितिले गर्नेछ ।
एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आईरहेका र कम्तीमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने महासंघले जनाएको छ ।


क्लिकमान्डु