प्रतिबन्ध हटेसँगै पाम आयलको निर्यात बढ्यो



काठमाडौं । भारत सरकारले पाम आयलको प्रतिबन्ध हटाएसँगै फेरि निर्यात बढेको छ ।

भारत सरकारले आर्थिक वर्ष २०७६÷०७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, भारतले सरकारले करिब डेढ वर्षपछि गत असार १६ गतेबाट प्रतिबन्ध खुल्ला गरेसँगै नेपालबाट निर्यात बढ्न थालेको हो ।

विगतका दिनमा उल्लेखनीय रुपमा नेपालबाट निर्यात हँुदै आएको पाम आयल भारतले प्रतिबन्ध गरेसँगै उक्त वस्तुको निर्यात शून्य अवस्थामै थियो ।

नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भटमासको तेलको निर्यात उच्च रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा प्रतिबन्धकै समय भएकाले नेपालबाट एक लिटर पनि पाम आयल निर्यात हुन सकेको थिएन । तर यो वर्ष प्रतिबन्ध खुल्ला भएसँगै नेपालबाट चालु आवको पहिलो महिनामै उल्लेख्य पाम आयल निर्यात भएको छ ।

साउन महिनामा मात्रै नेपालले ९४ करोड ३९ लाख रुपैयाँ बराबरको ५० लाख ७६ हजार लिटर पाम आयाल निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट मात्रै ९ लाख ८७ हजार रुपैयाँ बराबरको ६ हजार ६७ केजी मात्रै निर्यात भएको छ । जुन विगतको तुलनमा नगन्य जस्तै हो ।

नेपालमा पाम आयलको उत्पादन हुँदैन् । विगतको दिनमा निर्यात हुँदै आएको पाम आयल नेपाली उद्योगीहरूले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गर्छन् । सोही पाम आयल भएर नेपाली उद्योगीले प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् ।

चालु आवको साउन महिनामा मात्रै २ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको २ करोड २४ लाख १९ हजार लिटर पाम आयल आयात गरेको छ ।

भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताको फाइदा उठाउँदै चार वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए ।

नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जीएसटी)बापत १२ प्रतिशत तिर्नुपथ्र्यो । जीएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए । यसले गर्दा उद्योगीहरू सहजै पामको निर्यात गर्दै आएका थिए । यस्तै पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगीहरूले अत्यधिक मात्रामा भट्मास तेलको निर्यात गरी हाल निर्यातित वस्तुमध्ये पहिलो नम्बरमा रहेको छ । हाल पनि भटमासको तेलको निर्यात उच्च रहेको छ ।

भटमासको तेल आयातभन्दा निर्यात बढी
पाम आयलमा प्रतिबन्ध भएर निर्यात हुन छोडेपछि उच्च रुपमा निर्यात हुँदै आएको वस्तु हो भटमासको तेल । पाम आयल निर्यात हुँदा भटमासको तेल केही मात्रामा मात्रै निर्यात हुन्थ्यो । तर पाम आयलको निर्यात शून्य भएसँगै गति लिएको भट्मासको तेल हालसम्म पनि निर्यातित वस्तुमध्ये पहिलो नम्बरमै छ ।

चालु आवकै पहिलो महिनामै नेपालले ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको ४ करोड ४८ हजार केजी भट्मासको तेल निर्यात गरेको छ ।

साथै, सो महिनामा नेपालले ८ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ बराबरको ५ करोड ३१ लाख २८ हजार लिटर भट्मासको कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त तथ्याङ्क अनुसार आयातको परिमाणको तुलना गर्दा १ करोड बढी परिमाणमा निर्यात भएको देखिन्छ ।


क्लिकमान्डु