भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण



काठमाडौं । भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पुर्ति गर्ने बताए । भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताए । उनले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि जानकारी दिए ।


क्लिकमान्डु