अर्थतन्त्रमा कोभिडले पारेको प्रभाव न्यूनिकरणका लागि महासंघ र संयुक्त राष्ट्रसंघबीच सहकार्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हँुदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको छ ।

महासंघ अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल र तल्लो तहसम्म पुुग्न सक्ने संरचना भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको भनाइ छ ।

नेट २०३० अभियानले आगामी ५ वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पूरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनिकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको हो ।
मुलुकभित्र उद्योग व्यवसायको बिस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष गोल्छाले बताए ।

भेटघाटका क्रममा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक साराले चुुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमता प्रशंसायोग्य रहेको बताइन् । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिकाको उनले प्रंशसा गरेकी हुन् ।


क्लिकमान्डु