गण्डकीका वनमन्त्री थापाको सम्पत्तिः ३० तोला सुन, ६१ लाख ५० हजार ऋण



काठमाडौं । गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा वन, वातावरण तथा भू–संरक्षण दिपक थापाले ३० तोला सुन, २० तोला चाँदी लगायतका विवरण सार्वजनिक गरेका छन् ।

थापासँग हाल पैतृक सम्पत्तिमा प्राप्त गरेको स्याङ्जा विरुवा स्थित एउटा घर, सोही स्थानमा ५० हजारमा खरिद गरेको अर्को घर, विरुवा गाउँपालिका–२ मा किनेको ८ रोपनी जग्गा, पैतृक सम्पत्तिबाट प्राप्त १४ कित्ता, पोखरा महानगरपालिकामा खरिद गरेको ४० लाख पर्ने १७८ वर्गमिटर जग्गा, ३० तोला तेजाबी सुन र २० तोला चाँदी पैतृक सम्पत्तिप्राप्त भएको उल्लेख गरेका छन् ।

थापाका नाममा विभिन्न बैंकहरुमा रहेका खातामध्ये एभरेष्ट बैंकमा १० हजार, माछापुच्छ्रे बैंकमा ५ हजार, गरिमा विकास बैंकमा २ हजार रुपैँया रहेको छ ।

त्यस्तै थापाले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट २० लाख, सूर्योदय बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ५० हजार, जग्गा खरिदका लागि इन्द्रबहादुर थापाका नाममा ४० लाख ऋण लिएका छन् ।

थापाले कुनैपनि सवारी साधन विवरणमा देखाएका छैनन् । कृषि तथा पशुधनमा २५ वटा बाख्रा वंशवृद्धिमार्फत् १ लाख २५ हजार मूल्यका, सून्तला खेती ७५० बोट तथा चर्ती नर्सरीका लागि ६ रोपनी जग्गा आफ्नो लगानी तथा केही सरकारी अनुदानमार्फत् लिएको विवरण देखाएका छन् ।


क्लिकमान्डु