नापी विभागले थप ४० वटा कार्यालयमा अनलाइन नक्सा सञ्चालनमा ल्याउने



काठमाडौं । नापी विभागले थप देशभरका ४० कार्यालयबाट अनलाइन प्रणालीमा नक्सा वितरण प्रणाली सेवा सञ्चालनमा ल्याउने भएको छ ।
विभागले चालु आर्थिक वर्षभित्रमा देशका विभिन्न ४० वटा कार्यालयबाट अनलाइन नक्सा सञ्चालनमा ल्याउने भएको हो ।

विभागले गत आर्थिक वर्षमा १० स्थानबाट अनलाइन नक्सा सेवा सञ्चालनमा ल्याइसकेको छ । जसमा विभागले उपत्यकाका डिल्लीबजार, कलंकी, चाबहिल, मनमैंजु, टोखा, साँखु, ललितपुर, भक्तपुर, चितवन र रसुवास्थित नापी कार्यालयबाट अनलाइन नक्सा सेवा प्रदान गरिरहेको छ ।

हालसम्ममा उक्त अनलाइन प्रणालीबाट ८ सयभन्दा बढीले सेवा लिइसकेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेटमा कित्तानापी नक्सा, फिल्ड बुक र प्लट रजिष्टर सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने ‘मेरो कित्ता’ प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख छ । साथै, विभिन्न जिल्लाका ४० कार्यालयमा भू–सूचना प्रणाली विस्तार गरिने बजेटमा उल्लेख गरेको छ । सोही अनुसार विभागले ४० वटा कार्यालयमा अनलाइन नक्सा प्रणाली सञ्चालनका लागि कार्य गरिरहेको विभागका प्रवक्ता दामोदर ढकालले बताए ।

विभागले देशभरका विभिन्न पूर्वाधारको अवस्था र प्राथमिकताको आधारमा सञ्चालनमा ल्याउने भएको बताए । ‘देशभरका विभिन्न जिल्ला र कार्यालयको पूर्वाधारको अवस्था हेरेर सञ्चालनमा ल्याउँछौं । हाल विभागले सोही अनुसार अध्ययन गरेका छौं,’ उनले भने ।

उनका अनुसार सेवा सञ्चालन गर्नको लागि एउटा कार्यालयबाट गर्न नसक्ने अवस्थामा अर्को कार्यालयमा सञ्चालनमा तयारी गरेको हो । देशभर रहेका कार्यालयहरूमा विविध समस्या आउने गर्दछ ।

कुनै पनि कार्यालयको इन्टरनेटको व्यवस्था, डेटा कतिको एक ठाउँबाट अर्को ठाउँबाट हेर्न मिल्नेजस्ता विविध कार्य हेरेर सञ्चालनको फरक पर्दछ । त्यसैले जुन स्थानमा सबै पूर्वाधारको व्यवस्था छ सोही कार्यालयमा अगाडि सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

राष्ट्रिय नापी नक्साको रुपमा कार्यरत नापी विभागले नाप नक्साको क्षेत्रलाई नवीनतम प्रविधिहरू अबलम्बन गरी नाप नक्सा र सेवा प्रवाहको ‘मेरो कित्ता’ र ‘नेलिस’ अनलाइन प्रणाली शुरु गरेको हो । प्रयोगकर्ताको डाटा पूर्ण रुपमा संरक्षण र प्रयोगको हिसाबले सहज रुपमा प्रयोग गर्न सकिनेछ । यसबाट देशभरका नापी कार्यालयहरूको कित्ता नापी सम्बन्धि विवरणहरू केन्द्रिय सर्भरमा भण्डारण हुने र केन्द्रबाट नै नापी कार्यालयहरूको सेवा प्रवाहको अवस्था तथा राजश्व संकलनको विवरणसमेत सजिलै प्राप्त गर्न सक्नेछन् ।

नेलिस नाप नक्साबाट संकलित विवरण तथ्याङ्कको प्रयोगद्धारा जग्गा दर्ता तथा नक्सा अध्यवधिक गरी सेवा प्रवाह गर्ने प्रणाली हो । मेरो कित्ता अनलाइनमार्फत नक्सा, फिल्डबुक र ब्लड रजिष्टर प्रिन्ट सम्बन्धि सेवा प्रवा गर्ने प्रणाली हो । यसको लागि मेरो कित्ता डट डिओएस डट जीओभी डट एनपी पेजमा लगइन गर्न सक्नेछन् ।


क्लिकमान्डु