निषेधाज्ञा अवधिभर कर्जा असुली र लिलामी सम्बन्धी सूचना प्रकाशित नगर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाका कारण बन्द भएका ऋणी व्यवसायबाट निषेधाज्ञा अवधिभर कुनै पनि असुली गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशनमा संशोधन गर्दै यस अवधिमा कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना र लिलामी सम्बन्धी सूचना जारी नगर्न निर्देशन दिएको हो ।

निषेधाज्ञा जारी भएका स्थानमा सञ्चालनमा पूर्णरोक लगाइएका उद्योग, पेसा व्यवसायको सम्बन्धमा राष्ट्र बैंकले कुनै पनि प्रकारको कर्जा असुली नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अहिले पनि विभिन्न स्थानीय सरकारले कोभिड–१९ को संक्रमण फैलिएको भन्दै आंशिकरुपमा निषेधाज्ञा जारी राखेका छन् । जसका कारण पार्टी प्यालेस, शैक्षिक संस्था, तालिम केन्द्रहरु, सिनेमाघर, डान्सबार, दोहोरी नाच घर, कल्ब, स्वीमिङ पुल, जिम, मनोरञ्जन स्थान, खेलकुदका रंगशाला, संग्रहालयलगायत कोरोनाका कारण बन्द छन् ।

यस्ता क्षेत्रका पेसा व्यवसायीले बैंक तथा वित्तीय संसथाबाट कर्जा लिएको भएका र बन्दको कारणले साँवा बयाज समयमै भुक्तानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलकिा कुनै पनि कार्य गर्न पाउने छैनन् ।


क्लिकमान्डु