नेप्से सीइओ साउँदले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् ।

मंगलबार साढे ४ बजेतिर अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

‘भर्खरै अर्थमन्त्रालयमा राजीनामा बुझाएर फर्कँदैछु, त्यसपछि पत्रकार सम्मेलन हुन्छ,’ साउँदले क्लिकमाण्डूसँग भने ।

यसअघि साउँदलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसीमाध्यमबाट सेयर खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो । उक्त विषयमा छानबिनका लागि समेत अर्थमन्त्रालयले समिति गठन गरेको थियो ।

अर्थमन्त्रालयमा राजीनमा बुझाएर फर्किएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै साउदले आफूले कानून बमोजिम नै सेयर खरिद गरेको दावी गरे ।

‘मैले नेप्सेको कार्यकारी प्रमुखको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यससँग सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुर्याउनका लागि आजैका मितिदेखि लागू हुने गरी राजीनमा दिएको छु,’ उनले भने ।

उनले संस्थापक सेयर प्राथमिक सेयर निष्कासन भएको ३ वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने हुँदा तत्कालको सूचनाका आधारमा दोस्रो बजारमा बिक्री गरी लाभ लिन सक्ने अवस्था छैन,’ उनले भनेका छन् ।


क्लिकमान्डु