अफगानिस्तानमा बैंकिङ सेवा ठप्प: बैंकमा पैसा छ तर झिक्न पाइदैन



एजेन्सी । अफगानिस्तानको राजधानी सहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको छ । तालिबानले सत्ता कब्जामा लिएपछि मानिसहरुमा एक प्रकारको निराशा छ भने के होला भन्ने भय पनि उत्तिकै रहेको छ ।

सोही कारण बजार तथा आर्थिक गतिविधिहरु पूर्णतया ठप्प छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । जसको प्रभाव आम रुपमा परेको छ । बैंक तथा वित्तीय संस्थामा लुटपाट हुने भयका कारण सरकारी तथा निजी क्षेत्रका कुनै पनि संस्था खुलेका छैनन् ।

गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।

खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै छनक छैन ।

बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि तिनीहरूले आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।

गत शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन ।

गत हप्ता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेका ले अफगानिस्तानको अवस्था घट्दै गएको छ । अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारबिहीन अवस्था रहेको छ ।

शान्ति सुरक्षाको अवस्थामा सुधार नआउँदासम्म बैंक तथा वित्तीय संस्था खोल्न सकिने अवस्था नभएको त्यहाँका एक बैंकका कार्यकारी प्रमुखले जानकारी दिएका छन् । तालिबानका लडाकुले शान्ति सुरक्षा दिन्छौ भनेको भएपनि भिडको विश्वास नहुने भएकाले तत्कालका लागि बैंक बन्द गरिएको हो ।

तालिबानले नयाँ सरकार गठनको तयारी थालेको छ ।

‘सरकार गठन भएपछि अवस्थामा केही सुधार आउँला, त्यसपछि सबै संस्थाले नियमित रुपमा कारोबार गर्लान् र हामी पनि सोही अनुसार नै गर्छौ,’ ती कार्यकारी प्रमुखले भने ।


क्लिकमान्डु