सेयर खरिद प्रकरणः ढुंगाना र साउँदलाई निलम्बन गरेर अनुसन्धान अघि बढाउने मन्त्रालयको तयारी



काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदलाई पदबाट निलम्बन गर्ने तयारी गरेको छ ।

मन्त्रालय उच्च स्रोतकाअनुसार अनुसन्धान प्रकृयालाई सहज बनाउन ढुंगाना र साउँदलाई पदबाट निलम्बन गर्न लागिएको हो ।

‘हामीले अनुसन्धानमा कुनै कसर बाँकी राखेका छैनौं । अध्ययनका क्रममा आरोप पुष्टि गर्ने आधारहरु देखिएका छन् । यसकारण अनुसन्धानलाई सजिलो बनाउन राजिनामा माग्न लागिएको हो,’ मन्त्रालय उच्च स्रोतले क्लिकमाण्डुसँग भन्यो ।

बुक बिल्डिङ विधिबाट आइपिओ निस्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर नियामक निकायका प्रमुखहरुले ओटिसी बजारबाट खरिद गरेको विषयमा अर्थमन्त्रालयले कार्यदल गठन गरेर अनुसन्धान अघि बढाइरहेको छ ।

अर्थ मन्त्रालय कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । कार्यदलमा मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनाली छन् ।

धितोपत्र बजारसम्बधी विज्ञ र चार्टड एकाउन्टेन्ससमेत राखेर गठन गरिएको भनिएको उक्त अध्ययन कार्यदलमा रहेका अरु सदस्यहरुको विवरण भने मन्त्रालयले अनुसन्धान प्रकृयामा असर पुग्नसक्ने भन्दै खुलाएको छैन ।

मन्त्रालयका प्रवक्ता महेश दाहालले यो विषय अनुसन्धानकै क्रममा रहेकाले कार्यदलमा को–को संलग्न छन् भन्ने विवरण सार्वजनिक नगरिएको बताए ।

अनुसन्धान प्रकृया अघि बढ्दैछ । कार्यदलमा को छन भन्ने विषय अहिले खुलाउन मिल्दैन । यसले अनुसन्धानलाई प्रभावित पार्न सक्छ,’ प्रवक्ता दाहालले भने ।

अर्थमन्त्रालयका अर्का एक उच्च अधिकारीले अध्ययन कार्यदलले ढुंगाना र साउँदको विषयमा मात्र नभई यो प्रकरणमा जोडिएका सबै व्यक्ति र उनीहरुको क्रियाकलापबारे अध्ययन गरिने बताए ।

‘धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सिइओ बारे मात्र नभई यो प्रकरणमा जोडिएका अरु पक्षबारे पनि अनुसन्धान गर्ने कार्यादेश कार्यदलले पाएको छ,’ ती अधिकारी भन्छन्, ‘आवस्यकताका आधारमा यो कार्यदलको दायरा अझ बढ्न सक्छ र त्यसका लागि चाहिने बिज्ञलगायत जनशक्ति प्रयोग हुन्छन् ।’

ढुंगाना र साउँदलाई स्पष्टिकरण सोध्नुपर्नेमा बोर्ड र नेप्सेलाई संस्थागत रुपमा पत्र काटेपछि अर्थ मन्त्रालयको आलोचना शुरु भएको थियो । पछि मन्त्रालयले व्यक्तिगत रुपमै पनि उनीहरुलाई स्पष्टिकरण सोधेको थियो ।

ढुंगाना र साउँदलाई पदबाट निलम्बन गर्नुअघि मन्त्रालय आफैले राजिनामा गर्नका लागि आग्रह गर्ने बारे पनि मन्त्रालयमा छलफल भएको जनाइएको छ ।

नियामक निकायका प्रमुखहरुले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारबाट खरिद गरेको विषयमा सङ्घीय संसदअन्तर्गतको अर्थ समितिले पनि चाँसो दिइरहेको छ । अर्थ समिति बैठकमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सिइओ साउँदलाई निलम्बन गरेर अध्ययन अगाडि बढाउनुपर्ने विषय उठेको थियो । समितिबाटै निलम्बन गरेर मात्रै अनुसन्धान अघि बढ्नुपर्ने विषय उठेपछि मन्त्रालयले यसको तयारी थालेको हो ।

अनुसन्धानका लागि कार्यदल गठन भएको विषय अर्थमन्त्री जनार्दन शर्मा आफैले अर्थ समितिलाई जानकारी गराएपनि उक्त कार्यदलमा को–को छन भन्ने विषयमा भने अर्थ समितिलाई समेत मन्त्रालयले जानकारी गराएको छैन ।


क्लिकमान्डु