११३ संस्थामा सरकारको ३ खर्ब १५ अर्बबढी सेयर लगानी, १५ संस्थाबाटै मात्र प्रतिफल



काठमाडौं । सरकारले विभिन्न प्रकृतिका ११३ वटा संस्थामा सेयर लगानी गरेको र यसरी लगानी भएका संस्थामध्ये १५ वटा संस्थाले मात्रै सरकारलाई प्रतिफल दिने गरेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ सम्ममा विभिन्न ११३ वटा संस्थामा २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी गरेको थियो । त्यसमा गतवर्षमात्र १२ अर्ब ७२ करोड र बोनस सेयरसमेत प्राप्त तथा समायोजनबाट ६ अर्ब ६ करोड थप भएको देखिन्छ ।

यसरी हालसम्म ती विभिन्न संस्थाहरुमा सरकारले ३ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ बराबर सेयर लगानी गरेको छ । सरकारको सेयर लगानी भएका संस्थाहरुमध्ये ९८ वटा संस्थाले गतवर्ष प्रतिफल दिएका छैनन् भने १५ वटा संस्थाले नगद लाभांश र बोनस सेयरका रुपमा प्रतिफल दिएको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा सरकारलाई नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी ९ अर्ब ९६ लाख रुपैयाँ बराबर प्रतिफल दिएको छ । त्यस्तै, नेपाल टेलिकमले ६ अर्ब १७ करोड ७७ लाख, नेपाल आयल निगमले ४ अर्ब १५ करोड ४७ लाख र कृषि विकास बैंक लिमिटेडले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ बराबर लाभांश सरकारले पाएको देखिन्छ ।

नेपाल बैंक लिमिटेडको भने ७५ लाख ६ हजार रुपैयाँ बराबरको बोनस सेयरा गतवर्ष सरकारले प्राप्त गरेको देखिन्छ ।

अन्य विभिन्न ११ वटा संस्थाले २३ अर्ब २६ करोड ४१ लाख नगद लाभांश सरकारलाई दिएका छन् ।

तीबाहेक सरकारले ९८ वटा संस्थामा गरेको १ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानीबाट कुनैपनि प्रतिफल प्राप्त नभएको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


पुष्प दुलाल