१२ वटा विमानस्थलको निर्माण मापदण्ड विपरीतः महालेखा



काठमाडौं । मुलुकमा विमानस्थलमध्ये १२ वटा विमानस्थल मापदण्ड विपरीत निर्माण भएको पाइएको छ ।

महालेखा परीक्षकको ५८औं प्रतिवेदनले १२ हिमाली, पहाडी र तराईमा सञ्चालनमा रहेका १२ वटा विमानस्थल मापदण्ड अनुसार निर्माण नभएको पाइएको हो ।

हवाई नीति, २०६३ अनुसार निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दुरी कम्तीमा हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्रि मधेशमा ४० नटिकल माइलको हुनुपर्नेमा सञ्चालनमा नरहेका १२ वटा विमानस्थल सो मापदण्ड अनुसार निर्माण भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले पुराना विमानस्थल मर्मतका अतिरित्त, नयाँ विमानस्थल निर्माण कार्यलाई पनि तीव्रता दिइएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

वर्षान्तमा देशभर ५४ वटा विमानस्थल रहेकोमा हाल ३५ वटा सञ्चालनमा रहेको र १९ वटा सञ्चालनमा छैनन् । सञ्चालनमा रहेका विमानस्थलहरुमा पनि पर्याप्त उडान नभएको तथा छोटो दुरीमा निर्माण भएका केही विमानस्थलहरु पनि सञ्चालन पछि पनि सडक यातायातको सहजताले पूर्ण क्षमतामा सञ्चालन हुने नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैले सञ्चालन हुने गरी मापदण्डले तोके अनुसार मात्रै विमानस्थल निर्माण गर्नुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ ।


पुष्प दुलाल