संघीय मामिला मन्त्रालयको वार्षिक बजेट खर्च ४०.६३ प्रतिशत



काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छुट्याइएको बजेटमध्ये ४०.६३ प्रतिशत खर्च भएको देखिएको छ ।

मन्त्रालयको वार्षिक प्रगती समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको तथ्यांकअनुसार मन्त्रालयले गत आर्थिक वर्षमा कुल विनियोजित बजेटको आधाभन्दा पनि बजेट खर्च गरेको देखिएको हो ।

सङ्घीय मामिला मन्त्रालयलाई गत आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड २३ लाख रुपैयाँ बराबर बजेट छुट्याईको थियो । जसमध्ये १२ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ बराबर चालु बजेट छुट्याइकोमा ८ अर्ब ८९ करोड ८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगततर्फ १५ अर्ब १३ करोड ९१ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
मन्त्रालयको चालुगत खर्च ७०.२९ प्रतिशत र पुँजीगत खर्च ४५.७२ प्रतिशत बराबर हो ।

मन्त्रालयले गत आर्थिक वर्षभरीमा ६२१ वटा झोलुंगे पुल, ३२ वटा सडक निर्माण, र १३३ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । त्यस्तै, १३६ किलोमिटर सडक स्तरोन्नती, २०६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न, र ६८ वटा सिँचाई तथा बहुपयोगी योजनाको निर्माण सम्पन्न गरिएको छ ।

गत आर्थिक वर्षमै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएका ८१५ वटा झोलुंगे पुलको डिपिआर मात्रै बनेको मन्त्रालयले जनाएको छ । त्यस्तै, गतवर्ष नै बनिसक्नुपर्ने ८२७ किलोमिटर सडक निर्माणको चरणमै प्रवेश गरेको छैन । यी सडक आयोजना डिपिआर थन्किएको अवस्थामा छन् ।


क्लिकमान्डु