काठमाडौं मलले बुझाएन ३१ करोड ८७ लाख भाडा



काठमाडौं । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलले कोषलाई २०७७ असार मसान्तसम्ममा कोषलाई ३१ करोड ८७ लाख रुपैयाँ बराबर भाडा बुझाउन बाँकी रहेको देखिएको छ ।

महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनअनुसार सुन्धारामा रहेको उक्त व्यवसायिक भवन भाडामा लगाउने सम्बन्धी सम्झौतामा भाडामा लिनेले २०७३ माघ ६ गतेदेखि प्रथम तीन महिनाको अग्रीम भाडामात्र कोषलाई बुझाएकोसमेत देखिएको छ ।

सम्झौता अनुसारको भाडा नियमित रुपमा प्राप्त नभएपछि कोषले २०७५ वैशाख ५ गते भाडावालबाट ३२ करोड ५३ लाख रुपैयाँ बराबरको बैंक जमानत जफत गरी वक्यौता रकम चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

कोषले जमानत जफत गरेको रकमसमेत कटाउँदा २०७७ असारसम्ममा ब्याज तथा जरिबाना समेत गरी २२ करोड ५१ लाख रुपैयाँ बढी उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सोही भवनको अर्को भाडावालबाट २०७२ असोजमा सम्झौता रद्द गरेकोमा उक्त भाडाबालबाट ९ करोड ३६ लाख बक्यौता उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।कर्मचारी संचयकोषको स्वामित्वमा रहेको काठमाडौं मलमा मात्र नभई लगनखेलको व्यवसायिक भवनमा पनि भाडा उठेको छैन ।

कर्मचारी संचय कोषले २०७१ पुस ९ गते लगनखेल स्थित भवन मासिक भाडा ५४ लाख ७० हजारमा १५ वर्षको लागि भाडामा लिने र दिने करार गरेकोमा लामो समय देखि असुली हुन नसक्दा कोषले उक्त करार २०७५ भदौ १४ मा अन्त्य गरेको थियो । कोषले समय समयमा भाडावालाले तिरेका रकम र बैङ्क जमानत जफत गर्दासमेत १२ करोड २३ लाख भाडा र २९ लाख ३२ हजार जरिवाना गरि १२ करोड ५२ लाख असुल उपर गर्न बाँकी रहेको छ ।


क्लिकमान्डु