वार्षिक ५ अर्बको बिजुली बेच्ने खिम्तीको आम्दानी गुमाउँदै विद्युत् प्राधिकरण



काठमाडौं । सरकारले चासो नदिदा खिम्ती जलविद्युत् आयोजनाबाट प्राप्त गर्नुपर्ने लाभ प्राप्त हुन सकेको छैन ।

नर्वेजियन कम्पनीको लगानी रहेको सो आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आउनुपर्ने भएपनि हालसम्म प्राप्त हुन सकेको छैन ।

सम्झौता अनुसार आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको मितिले २० वर्षभित्र ५० प्रतिशत स्वामित्व प्राधिकरणको नाममा आउनुपर्ने व्यवस्था छ । सो समय पूरा भएको पनि एक वर्षभन्दा बढी भइसकेको छ । आयोजनाले २०५७ असारदेखि बिजुली उत्पादन गरेको हो । त्यस आधारमा २० वर्ष २०७७ असारमा नै पूरा भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसमा चासो दिन नसक्दा आवश्यक काम हुन सकेको छैन ।

मन्त्रालयले एक समिति गठन गरी आयोजनाको ५० प्रतिशत हिस्सा प्राधिकरणको नाममा ल्याउनेतर्फ पहल गरेको भए पनि कुनै निर्णय भएको छैन ।

शुक्रबार राष्ट्रपतिलाई बुझाइएको महालेखाको प्रतिवेदनको २० औं नम्बर बुँदामा खिम्ती आयोजनाकाबारेमा उल्लेख गरिएको छ ।
आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवै स्वामित्व रहने गरी कम्पनी स्थापना गर्नुपर्ने भएपनि हालसम्म कुनै पनि कम्पनी स्थापना हुन सकेको छैन ।

नयाँ कम्पनी नै सथापना नभएको सन्दर्भमा सो कम्पनीसँग नयाँ विद्युत् खरिद सम्झौता हुन सकेको छैन । सोहीकारण स्वामित्व हस्तान्तरणमा समस्या भएको छ । यसबाट प्राधिकरणलाई प्राप्त हुने आयमा समेत असर गरेको छ ।

प्राधिकरणको केही दिन अघि सार्वजनिक वित्तीय विवरणमा समेत सो विषय उल्लेख थियो । आव २०७७/७८ मा प्राधिकरणको नाफा घट्नुको पछाडि समेत खिम्ती पनि जोडिएको छ ।

आयोजना ६० मेगावाट क्षमताको हो । सो आयोजना हाल हिमाल पावरले सञ्चालन गरिरहेको छ । स्वामित्व हस्तान्तरण हुने समय गुर्जेको एक वर्षं) भन्दा बढी समय हुन लाग्दा समेत सरकारले कुनै चासो दिएको छैन । खिम्ती एक्लैले वार्षिक झण्डै ४ अर्ब ९९ करोड ३६ लाख ३२ हजार २०२ बराबरको बिजुली बिक्री गरेको छ ।


क्लिकमान्डु