१ वर्षमा ६.४४%ले बढ्यो वित्तीय पहुँच, बैंकका शाखाबाट सेवा लिनेको संख्या घट्यो



काठमाडौं । नेपालमा वित्तीय पहुँच एक वर्षभित्र ६.४४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंक गरेको एक अध्ययनले २०७८ जेठ मसान्तसम्म नेपालको वित्तीय पहुँच ६७.३४ प्रतिशत पुगेको देखाएको छ । गत वर्ष असार मसान्तसम्म वित्तीय पहुँच ६०.९ प्रतिशत थियो ।

वित्तीय पहुँच सम्बन्धमा राष्ट्र बैंकबाट हालै सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा यो अध्ययन प्रतिवेदन तयार पारिएको हो ।

वित्तीय साक्षरता प्रवद्र्धन, शाखा बिस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्ने लगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्याउने नागरिकको संख्या क्रमशः घट्दै गएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो ।

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् ।

सो अवधिमा कुल निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका थिए ।

इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७८ चैत मसान्तमा ५ हजार ९७८ पुगेको छ । ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा बिस्तार भएको छ ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् । महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् ।

ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (१५ वर्षभन्दा माथि)को रहेको छ ।

प्रतिएक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ ।

ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११ प्रतिशत, ३३.१२ प्रतिशत र ६.४० प्रतिशत रहेको छ ।

प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ । महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् ।

गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिन्छ ।


क्लिकमान्डु