बुध्द एयरले सेप्टेम्बर १ तारिखदेखि पोखरा-सिमरा उडान भर्ने



काठमाडौं । बुध्द एयरले काठमाडौंसँगै पोखरालाई केन्द्र बनाएर विभिन्न प्रदेशसँग सिधा उडान शुरु गरेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुरबाट सिधा उडान बिस्तार गरेको बुध्द एयरले केही साता अघि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

बुध्द एयरले आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गतेबाट पोखराबाट सिमराको सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

शुरुवातमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । केही समयपछि यात्रुको माग अनुसार बुध्द एयरले दैनिकी उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट-सिमरा १२ः२० र सिमराबाट-पोखराको उडान १३ः१५ बजे तोकिएको छ ।

उक्त उडानबाट दुबै प्रदेश तथा सहरका जनता लभान्वित हुने कम्पनीको भनाइ छ । यसबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

उनका अनुसार सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरा-वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ ।

सिमरा-वीरगञ्जका बासिन्दा पनि पर्यटकीय सहर पोखरा तथा वरिपरी रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय सहरहरु पटना, दरभंगा, मजफ्फरपुरआदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँमा २ रात ३ दिनको प्याकेज उपलब्ध गराइनेछ । जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

बुध्द एयरसँग हाल ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।


क्लिकमान्डु