ओटीसी सेयर खरिदबारे छिटो अनुसन्धान टुंगाएर कारबाही प्रक्रिया थाल्न अर्थसमितिको निर्देशन



काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर सार्वजनिक गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ओभर द काउन्टर (ओटिसी) बजारमा नियामक निकायका प्रमुखले खरिद गरेको विषयमा अर्थमन्त्रालयले गरिरहेको छानबिन छिटो टुंगाउन र कारबाही प्रकृया अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ ।

शुक्रबार बसेको संघीय संसद अर्थसमितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँद मुछिएको सर्वोत्तम सिमेन्टको ओटिसी खरिद प्रकरणको अनुसन्धान चाँडो टुंगाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

‘धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी अनुचित लाभ लने गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थमन्त्रालयबाट अध्ययन÷छानबिन भइरहेको जानकारी समितिलाई गराइएकोमा उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी कानून बमोजिम कारबाही अगाडि बढाउन र सोको जानकारी अर्थसमितिलाई गराउन निर्देशन गरिन्छ,’ अर्थसमितिले अर्थमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्नका लागि ५ सदस्यीय समिति गठन गरेर अनुसन्धान भइरहेको जानकारी अर्थ समितिलाई गरेको थियो ।

त्यस्तै पुँजीबजार विकास र बिस्तारका लागि चाल्नुपर्ने आवस्यक कदमबारे अध्ययन गरेर सुझाव पेश गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

‘पुँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही रुपमा प्रबद्र्धन गर्न नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन अर्थमन्त्रालयलाई निर्देशन गरिन्छ,’ समितिको निर्देशनमा भिनएको छ ।


पुष्प दुलाल