सेबोन अध्यक्ष र नेप्से सीइओलाई बर्खास्त गरेर अनुसन्धान गर्न सांसदको माग



काठमाडौं । संघीय संसद अर्थसमितिका सांसदहरुले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणको अनुसन्धानमा खेलाँची गर्न नहुने र गम्भीर भएर अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउँदलाई पदमै राखेर अनुसन्धान थाल्दा उनीहरुले चलखेल गर्न सक्ने र अनुसन्धान प्रभावित हुनसक्ने भएकाले पदबाट बर्खास्त गरेर अनुसन्धान थाल्न सांसदहरुले समितिमा माग समेत गरेका छन् ।

समिति सदस्य रामबाबु कुमार यादवले यो प्रकरणमा ढुंगाना र साउँदको संलग्नता देखिसकेको अवस्थामा उनीहरुलाई पदमै राखेर अनुसन्धान अगाडि बढाउनु स्वभाविक नभएको बताए ।

‘अर्थमन्त्रालयले पनि उनीहरुको संलग्नता छ भनेर आफ्नो प्रारम्भिक अनुसन्धानबाट देखिएको स्वीकारेको छ । थप अनुसन्धानका लागि उनीहरुलाई पदमै राखिराख्नु उचित हुँदैन,’ उनले भने ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरु रामकुमारी झाँक्री, कृष्ण कुमार श्रेष्ठ, मेटमणी चौधरीलगायतले यो घटनाको गम्भीर भएर अध्ययन गर्नुपर्ने बताएका छन् ।

सांसद रामकुमारी झाँक्रीले धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सीइओले गोल्डेन सेयर पाएका हुन् वा किनेकै हुन् भन्ने विषयमा पनि अनुसन्धान आवश्यक रहेको बताइन् ।

‘गोल्डेन सेयर हो कि किनकै हो भन्ने पनि स्पष्ट पार्नुपर्छ । किनेको भए बैंक कारोबार वा अरु कारोबारको पुष्ट्याई के छ ? त्यो पनि खोजिनुपर्छ,’ उनले भनिन् ।


क्लिकमान्डु