रेल्वे रेखाङ्कन तथा स्टेसनमा पर्ने जग्गाको मूल्य निर्धारण, प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्म



काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जयनगर-जनकपुर-बर्दिबास र मेची महाकाली विद्युतीय रेलको रेल्वे मार्ग तथा स्टेशन क्षेत्रमा पर्ने जग्गाको दररेट निर्धारण गरेको छ ।

जिल्ला कार्यालयले आज एक सूचना जारी गर्दै रेल्वे रेखाङ्कनमा पर्ने जग्गा अधिग्रहणको मुआब्जा दररेट सार्वजनिक गरेको हो ।

कार्यालयले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ११ प्रयोजनार्थ सोही ऐनको दफा ऐनको दफा ९ बमोजिम १५ दिने सूचना सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी दिएको हो ।

कार्यालयले रेल्वे क्षेत्रमा परेको सम्पूर्ण जग्गाको प्रतिकठ्ठा न्यूनतम ८ लाख र अधिकतम प्रतिकठ्ठा ८१ लाख रुपैयाँ तोकेको छ । जसमा कार्यालयले बर्दिवास पूर्व-पश्चिम राजमार्गबाट औरही जलेश्वर जाने मूल सडकसँग जोडिएका ३० मिटरसम्मका जग्गाहरूको मूल्य प्रतिकठ्ठा ८१ लाख रुपैयाँ दररेट तोकेको छ ।

त्यसैगरी सबैभन्दा थोरै कार्यालयले रातु नदीबाट पश्चिम र हातिलेट पैनीबाट पूर्व तिरका जग्गाहरूको मूल्य प्रतिकठ्ठा ८ लाख रुपैयाँ तोकेको सूचनामा उल्लेख छ ।

पावन मिथिला-पश्चिम- नव क्षितीज कलेज हुँदै नयाँ सरकारी हस्पिटल भवन जाने सडकसँग जोडिएका ३० मिटरसम्मका जग्गाहरू ३१ लाख, ६० मिटरसम्मकको जग्गाको २० लाख र १ सय मिटरसम्ममा जग्गाको १७ लाख रुपैयाँ तोकेको छ । साथै सोही बाटोमा पर्ने अन्य जग्गाको दररेट १७ लाखदेखि २६ लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

त्यस्तै, बर्दिवास पूर्वपश्चिम राजमार्गबाट औरही जलेश्वर जाने मूल सडकसँग जोडिएका ६० मिटरसम्मको जग्गा प्रतिकठ्ठा ५३ लाख, १०० मिटरसम्मका जग्गाको ३७ लाख रुपैयाँ रहेको छ ।

साथै पूर्वपश्चिम राजमार्गमा रहेका जग्गाहरूको मूल्य पनि प्रतिकठ्ठा १७ लाखदेखि ४१ लाख रुपैयाँसम्म तोकेको छ । कार्यालयले मूल पैनीमा पर्ने जग्गाको भने प्रतिकठ्ठा १० लाखदेखि १७ लाख रुपैयाँ दररेट निर्धारण गरेको छ ।


क्लिकमान्डु