अफगानिस्तानबाट २८८ जना नेपाली फर्किए



काठमाडौं । तालिबान लडाकु समूहले सत्ता कब्जा गरेपछि उत्पन्न संकटपछि अफगानिस्तानबाट २ सय ८८ नेपाली स्वदेश फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका २ सय ८८ नेपालीहरूको उद्दार गरिएको जनाएको हो ।

मन्त्रालयले मित्रराष्ट्रहरूसँगको निरन्तर प्रयास र समन्वयमा मंगलबार विहान ११८ जना र राति ८४ जना नेपाल ल्याइएको थियो । साथै, बुधबार विहान ६१ जना र अपरान्ह २५ जना समेत गरी हालसम्म २८८ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्दार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु भइरहेको मन्त्रालयले भनाइ छ ।

साथै, अफगानिस्तानबाट उद्दार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी कन्सुलर सेवा विभागको वेव पोर्टलमा बुधबार ५ बजेसम्म २ सय ९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेको जनाएको छ । त्यसमा दर्ता भएकामध्ये १६ जना नेपाली नागरिकहरू उद्दार भई नेपाल आएको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा भाइबर र वाट्सअप सुविधा सहितको मोवाइल नम्बरहरु +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिउचेसन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ ।

अफगानिस्तानमा उद्धारको पर्खाईमा रहनुभएका नेपालीहरूले काबुलमा रहनुभएका श्री सुरेश चन्द्र शर्मा (भाइबर र वाट्सअप सुविधा सहितको मोवाईल नं. +९३७८७८४५९९४) लाई सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराइदिनुहुन समेत अनुरोध गरेको छ ।


पुष्प दुलाल