विद्युत् नियमन आयोगले भन्यो- जलविद्युत् कम्पनीमा लगानी गर्दा यी कुरामा ध्यान दिनु



काठमाडौं । विद्युत् नियमन आयोगले जलविद्यत् कम्पनीमा लगानी गर्नका लागि सेयर लगानीकर्तालाई सचेत गराएको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले सेयर बजारमा जलविद्यत् कम्पनीको सेयरमा लगानीकर्ताको चाप बढेसँगै सचेत गराएको हो ।

विगत केही समयदेखि विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा केही विद्युत् कम्पनीका प्रबर्द्धकले सेयर मूल्यमा अस्वभाविक वृद्धि गराउने क्रियाकलापमा संलग्न भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुनै पनि विद्युत् सम्बन्धी कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयमले नै सम्बन्धित प्रबर्द्धक कम्पनी वा आयोजनाको आधारभूत अवस्थाको अध्ययन नै गरी निक्र्यौल गर्नुपर्ने बजारको सिद्दान्त हो । सूचिकृत कम्पनीले जानकारी वा विवरण सार्वजनिक गर्दा सत्य तथा निष्पक्ष जानकारी प्रेसित गर्नुपर्ने सम्बन्धित कम्पनीको जिम्मेवारी हो,’ आयोगले भनेको छ ।

आयोगले लगानीकर्तालाई कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको नेटवर्थ चुक्तापुँजीभन्दा कम भएको/नभएको, सेयर बजार मूल्य र प्रति सेयर आम्दानीको अनुपात कम भएको/नभएको, चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भएको/नभएको, तरलता अनुपात धेरै भएको/नभएको, निर्माणधनी आयोजनाको हकमा कार्य प्रगति धेरै भएको/नभएकोलगायतका जानकारी लिनुपर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु