घरजग्गा कारोबारबाट साउनमै उठ्यो ८ अर्ब बढी राजस्व



काठमाडौं । असारमा कोरोना महामारीले निकै प्रभाव परेको घरजग्गा किनबेचमा साउनमा भने उत्साह रुपमा कारोबार भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट ८ अर्ब बढी राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा देशभरको मालपोत कार्यालयबाट ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन हालसम्मकै उच्च राजस्व संकलन भएको छ ।

विभागका अनुसार सेवा करवापत ३९ करोड १४ लाख रुपैयाँ, बाग्मतीवापत २३ करोड ९७ लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब ६८ लाख ७५ हजार, पूँजीगत लाभ करवापत २ अर्ब २ करोड ५१ लाख रुपैयाँ र अन्य विभिन्न विधा गरेर ८ अर्ब बढी राजस्व संकलन गरेको हो ।

उपत्यकाबाट मात्रै ३ अर्ब बढी राजस्व संकलन
देशभरको मालपोत कार्यालयबाट ८ अर्ब बढी राजस्व संकलन भएको अवस्थामा उपत्यकाको ९ मालपोत कार्यालयबाट मात्रै ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा सबैभन्दा बढी राजस्व लगनखेल मालपोत कार्यालयले संकलन गरेको छ । उक्त मालपोत कार्यालयले मात्रै ७६ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।\

त्यस्तै कंलकीले ५५ करोड ३४ लाख, भक्तपुरले ५२ करोड ७२ लाख, डिल्लिबजारले ४६ करोड ३० लाख, चावहिलले ४१ करोड २४ लाख, साँखुले २० करोड ५० लाख, मनमैजुले १९ करोड ३५ लाख, टोखाले १४ करोड ५४ लाख र ललितपुरमा रहेको गोटीखेलले ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपत्यकाबाहिर सर्वाधिक राजस्व संकलन गर्नेमा चितवन
उपत्यकाबाहेक देशभरका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी मालपोत कार्यालय चितवनले राजस्व संकलन गरेको छ ।चितवनले साउनमा मात्रै २७ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त कार्यालयले रजिष्ट्रेशन शुल्कवापत नै १९ करोड ४४ लाख रुपैयाँ उठाएको छ ।

उपत्यकाबाहिर चितवनपश्चात काभ्रेपलाञ्चोकले साउन महिनामा २५ करोड ४ लाख, कास्कीले २० करोड २८ लाख, पर्साले १९ करोड ३५ लाख, इनरुवा सुनसरीले १४ करोड १० लाख, बुटवल रुपन्देहीले १४ करोड र नेपालगञ्ज बाँके मालपोत कार्यालयबाट ११ अर्ब ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

साढे ७५ हजार घरजग्गा किनबेच
विभागको तथ्याङ्क अनुसार देशभरको मालपोत कार्यालयबाट १ लाख ९० हजार १ सय ९१ सेवा प्रवाह हुँदा साढे ७५ हजार घरजग्गा किनबेच भएको छ ।

जसमा एह महिनाको अवधिमा देशभरको मालपोत कार्यालयबाट ७५ हजार ४ सय ९३ घरजग्गाको लिखत पारित गरेको छ । त्यसैगरी मालपोत कार्यालयले ५० हजार रोक्का र ३१ हजार १ सय २५ घरजग्गाको फुकुवा गरेको छ ।

त्यसैगरी साउनमा सबैभन्दा बढी घरजग्गा किनबेच इनरुवा सुनसरीमा भएको छ । उक्त कार्यालयले ८ हजार ६ सय ६८ सेवा प्रवाह गर्दा ४ हजार ३ सय ६० घरजग्गा किनबेच भएको छ । जुन सेवा प्रवाहको ५० प्रतिशत किनबेच भएको देखिन्छ ।

इनरुवापश्चात भक्तपुरले ६ हजार १ सय सेवा प्रवाह गर्दा २५ सय २८ घरजग्गा किनबेच भएको छ । त्यस्तै, लगनखेलबाट २३ सय १६, नेपालगञ्जमा २६ सय ७६, चितवनमा १९ सय ३०, कलंकीबाट २ हजार ९७ र जनकपुरधाम धनुषाबाट २८ सय घरजग्गाको लिखत पारित भएको छ ।

१२ वटा मालपोत कार्यालयबाट किनबेच शून्य
देशभरका मालपोत कार्यालयबाट ७५ हजार बढी घरजग्गा किनबेच हुँदा १२ वटा मालपोत कार्यालयबाट घरजग्गा किनबेच शून्य भएकको देखिन्छ । जसमा उपत्यकासँगै अन्य उपत्यकाबाहिरका मालपोत कार्यालय छन् । विभागको तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक र बुटवल रुपन्देही मालपोत कार्यलयले ४ हजार सेवा प्रवाह गर्दा कुनै पनि घरजग्गा किनबेच गरेको छैन । त्यस्तै मनमैजु काठमाडौंले पनि २२ सय बढी सेवा प्रवाह गर्दा शून्य घरजग्गा किनबेच भएको छ । त्यस्तै अन्यमा नुवाकोट, चन्द्रनिगाहपुर रौतहट, चन्दौटा कपिलवस्तु, रसुवा, बलार सर्लाही, सिर्दिवास, मनाङ, पूर्व रुकुम रुमुककोट र झोताभैरव बझाङ रहेको छ ।


क्लिकमान्डु