मंगलबारदेखि माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थाल्यो



काठमाडौं । अन्नतः लामो प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट विद्युत् उत्पादन गरेको छ । अनेकन हण्डर, ठक्कर तथा विपदको सामना गर्दै आयोजनाले मंगलबारदेखि पूर्णक्षमतामा बिजुली उत्पादन गरेको हो ।

पूर्णक्षमतामा आयोजना सञ्चालनमा आएपछि विद्युत्गृहभित्र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको उपस्थितीमा धार्मिक अनुष्ठान गरिएको थियो । सो अनुष्ठानको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफनो फेसबुकमा सार्वजनिक गरेका छन् ।

झण्डै ११ वर्षपछि आयोजना निर्माण सम्पन्न भएको हो । देशभित्र निर्माण सम्पन्न भएका ठूला आयोजनामध्ये शीर्ष स्थानमा रहेको आयोजना हो, तामाकोशी ।

स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको शुरुवाती लागत ३५ अर्ब रहने उल्लेख थियो । आयोजनाको डिजाइनमा भएको परिवर्तन, प्राकृतिक विपत्तीको कहर तथा ठेकेदारको बदमासी , अमेरिकी डलरमा भएको मूल्यवृद्धिलगायतका काराणले लागत बढेर ८४ अर्ब बराबर पुगेको छ ।

नेपाली लगानीमा नै यत्ति ठूलो आयोजना निर्माण सम्पन्न हुन आफैमा सकारात्मक रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन् । उनले आयोजना निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


क्लिकमान्डु