भैसेपाटीमा यस्तो बन्दैछ मन्त्री निवास, यस्ता हुनेछन् सुविधा, प्रगति ६३% मात्रै



काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख तथा संघीय मन्त्री निवास निर्माणको सम्झौताको म्याद सकिन लागेको छ ।

सरकारले मन्त्री आवास निर्माणका लागि २०७६ कार्तिक २७ गते स्रिको हनुमान जेभीसँग २०७६ कार्तिक २७ गते सम्झौता गरेको थियो । उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ वर्षको अवधि तोकेको थियो ।

तर, मन्त्री आवास निर्माण कार्यको सम्झौताको म्याद सकिनै लागेको अवस्थामा निर्माण कार्यको समष्टिगत भौतिक प्रगति ६३ प्रतिशत मात्रै भएको छ । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको अनुसार भौतिक प्रगति निर्माण कार्य ६३ प्रतिशत सम्पन्न भएको हो ।

मन्त्री निवास निर्माणका लागि २ वर्ष अघि ९६ रोपनी १० आना जग्गामा जेभीसँग १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त सम्झौतमध्ये हालसम्ममा भएको ६३ प्रतिशत प्रगतिको लागि ५७ करोड ८४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

त्यसमा कोरोनाका कारण अपेक्षित प्रगति हुन नसकेको आयोजना प्रमुख दिलिप शेखर श्रेष्ठ बताउँछन् । सरकारले दुई चरणमा २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको थियो । तर, कोरोना महामारीले लामो समयसम्म बन्दाबन्दी र श्रमिकको समस्याले गर्दा समयमै सम्पन्न गर्न नसकेको उनले बताए ।

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने शहरी विकास तथा भवन निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल बनाइनेछ ।

विभागका अनुसार आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ भने सुरक्षाका लागि थप तीन भवन बनाइनेछ । सरकारले निर्माण गरिरहेको २७ भवनको हालसम्ममा तेस्रो तल्लाको ढलान कार्य, स्लोप्पिङ स्ल्याब र इँट्टाको कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, कार्यालयको विवरण अनुसार दाची इट्टाको कार्य २१ वटा भवन अर्थात ब्लकमा सम्पन्न भई अन्य ५ वटा भवनका कार्य भइरहेको छ । त्यसमा आन्तरिक सडक कार्य अन्तर्गत पानी निकासी प्रणाली (ढल) को कार्या ७२ प्रतिशत प्रगति गरेको छ ।

उक्त भवनको हालसम्ममा १४ वटा भवनमा ढलानको कार्य सम्पन्न भई १२ वटा भवनमा ढलानको कार्य भइरहेको कार्यालयले जनाएको छ ।
हालसम्ममा पानी ट्ङ्कीको संचरना सम्पन्न हुनुको साथै २२ वटा ब्लकको भित्री सीमाको पर्खाल सम्पन्न भई ५ वटा ब्लकको भित्री सीमा पर्खालको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

यस्तो बन्दैछ मन्त्री निवास
सैंबु भैसिपाटीस्थित सम्झौता बमोजिम परिसरभित्र ९६ रोपनी १० आनामा बन्दै गरेको आवासमा चार वटा आवासको निर्माण हुने भएको छ । जसमा मन्त्रीहरूको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटर, राष्ट्रिय सभाको अध्यक्षको निवास प्लिन्थ क्षेत्र ३७६.९० स्क्वाइर मिटर, राष्ट्रिय सभाको उपाध्यक्षको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटर र उपसभामुखको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटरमा निर्माण भइरहेको छ ।

जसमा निर्माण भइरहेको प्रत्येक भवन साढे दुई तलामा हुनेछ । साथै, भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

विभागका अनुसार आवासको लागि छुट्टाइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् भने ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्टाइएको छ । त्यस्तै २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछन् । साथै, ११ रोपनीमा हेल्थ क्लब बन्नेछ भने कम्यूनिटी हलका लागि सात आना छुट्टाइएको छ ।

त्यसैगरी, व्यवस्थापन कार्यलयका लागि तीन आना, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । त्यसका साथै, बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ ।

निर्माण भइरहेको निवासहरूमध्ये मन्त्रीहरूको निवासमा छुट्टै खालको व्यवस्था हुने भएको छ । जसमा भुईतल्ला, पहिलो तल्ला र तेस्रो तल्लामा छुट्टैछुट्टै कोठाको व्यवस्था हुनेछ । जसमा भुईतल्लामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा रहनेछ ।

त्यस्तै पहिलो तल्लामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल हुनेछ । साथै, दोस्रो तल्लामा भने दुई वटा पाहुना कोठाको व्यवस्था हुनेछ ।


क्लिकमान्डु