प्रदेश प्रमुख र मुख्यमन्त्री आवासको निर्माण कोरोनाका कारण धकेलियो



काठमाडौं । ललितपुर सैंबु भैंसीपाटिस्थित सैंबु आवास क्षेत्रको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालयको ७ वटै ब्लकको तेस्रो ढलान सम्पन्न गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको अनुसार २०७६ असोज २७ गते सम्झौता भएको आयोजनाले हालसम्ममा ७ वटै ब्लकको तेस्रो ढलान सम्पन्न गरेको हो ।

सरकारले सो भवन निर्माणका लागि केसी समानान्ततर जेभीसँग सम्झौता गरेर आयोजना अगाडि बढाएको थियो । २७ रोपनी १२ आना जग्गाको क्षेत्रफलमा निर्माण भइरहेकोे प्रदेश प्रमुख र मुख्यमन्त्री निवास निर्माणका लागि भ्याटसहित ७३ करोड ३८ लाख रुपैयाँमा ठेक्का दिएका थिए । उक्त रकममध्ये हालसम्ममा कार्यालयले ४० करोड ४२ लाख रुपैयाँ खर्च गरिसकेको कार्यालयले जनाएको छ ।

सरकारले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्ममा सो प्रदेश तथा मन्त्री निवासको समष्टिगत भौतिक प्रगति ५७ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयले कोरोनाले गर्दा अपेक्षित प्रगति हुन नसकेको विवरणमा उल्लेख गरेको छ ।

कोरोनाका कारण लामो समयसम्म कामदार र बन्दाबन्दीले धेरै समस्या भएकाले समयमै सक्नुपर्ने योजना केही धकेलिएको कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार सो आयोजनाको ७ वटै ब्लकको तेस्रो ढलान र भ¥याङ छोप्ने स्लोप ढलान सम्पन्न गरिसकेको छ । त्यस्तै ७ वटामध्ये ३ वटा ब्लकको ब्रिकको कार्य, बाँकी ४ वटा ब्लकको पहिलो तल्लो र दोस्रो तल्लामा ब्रिकको कार्य सम्पन्न भई भुई तल्लोमा ब्रिकको कार्य भइरहेको कार्यालयले जनाएको छ । साथै, १ वटा ब्लकमा ढलानको कार्य सम्पन्न भई ६ वटाको ढलानको कार्य भइरहेको कार्यालयले प्रगति विवरणमा उल्लेख गरेको छ ।

त्यसैगरी ब्लक १, २, ४, ५, ६ र ७ मा सुरक्षा गार्ड हाउस को संरचना र ब्लक ३ मा सुरक्षा गार्ड हाउसको टाई बीमसम्मको ढलानको कार्य भएको छ । साथै बाह्य सीमा पर्खालको कार्य भइरहेको र पानी ट्याङ्को संरचनाको कार्य सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

कस्तो बन्दैछ प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास ?

ललितपुरको सैंबु भैसिपाटिमा निर्माण भइरहेको आवास क्षेत्रको मास्टर प्लान अनुसारको प्रदेश प्रमुख÷मुख्य मन्त्रीको जग्गाको क्षेत्रफलमा बगैंचा, पोखरी, पार्किङ क्षेत्रलगायत हरियाली क्षेत्र बन्ने भएको छ । जसमा भीआइपी कोलोनीको लागि २७ रोपनी १२ आना जग्गामा १७ रोपनी ७ आनामा भवन (६२%), ५ रोपनीमा आन्तरिक सडक (१८%) ८ आनामा बगैंचा र पोखरी (१.८%) र ४ रोपनी १२ आनामा पार्किङ्ग तथा हरियाली क्षेत्र (१७.११%) मा मुख्य मन्त्री आवास बन्ने भएको छ ।

हाल बनिरहेको सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने कार्यालयले जनाएको छ । त्यसैगरी प्रत्येक ब्लकमा दुईवटा भवन हुनेछ । एउटा मुख्यमन्त्रीको र अर्को प्रदेश प्रमुखका लागि हुनेछ ।

कार्यालयका अनुसार १४ कोलोनी रहेको भवन सुविधासम्म हुने जनाएको छ । त्यस्तै, परिसरभित्र प्रवेश गर्न सुरक्षा निकायलाई विशेष ध्यान दिइएको छ । साथै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तल्लाको हुनेछ ।

निर्माण भइरहेको प्रत्येक मन्त्री निवासमा विभिन्न प्रयोजनका कोठाहरू हुनेछन् । जसमा भुईँतल्लामा प्रतिक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तल्लामा बैठक कक्ष, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र तेस्रो तल्लामा भान्साकोठा, पाहुना कोठा, परिवाका सदस्य सुत्ने कोठा र पूजा कोठा हुनेछन् ।


क्लिकमान्डु