महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) को कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा अर्थमन्त्रालयबाट आफ्नो भान्जीज्वाँईलाई पठाएका छन् ।

अघिल्लो सरकार हुँदा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो सचिवालयमा रहेका उपसचिव रमेश अर्याललाई उक्त पदमा पठाउने तयारी गरेका थिए ।

तर नयाँ सरकारले उपसचिव अर्याललाई रोकेर शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेको छ । न्यौपाने अर्थमन्त्री शर्माको भान्जीज्वाई हुन् ।

सेवा सुविधाका हिसाबले यो निकै आकर्षक पद मानिन्छ । जसकारण त्यहाँ कुन कर्मचारी पठाउने विषयमा विगतमा पनि विवाद हुने गरेको थियो ।

२ वर्षका लागि नियुक्त हुने यो पदमा तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले सहसचिव रामशरण पुडासैनीलाई पठाएका थिए ।
पुडासैनीलाई त्यहाँ पठाउँदा मुख्यसचिव छोडेर गएका सोमलाल सुवेदीलाई फिर्ता बोलाएको थियो ।

महिनाको २० लाखसम्म तलब सुविधा हुने सो पद निकै आकर्षक मानिन्छ । सोमलाल सुवेदीले सोही पदमा जानको लागि बीचमा राजीनामा दिएपछि निजामति प्रशासनमा बिकृति नै निम्तिएको थियो ।

सामान्यतया सो पदमा सहसचिव स्तरको कर्मचारी पठाउने हो । ओली सरकारले उपसचिवलाई सिफारिस गरेकोमा अर्थमन्त्री शर्माले परिवारका नातेदारलाई शाखा अधिकृत भएपनि पठाएका हुन् । न्यौपाने अहिले अर्थमन्त्रालयमा अर्थसचिवको सचिवालयमा कार्यरत छन् ।


क्लिकमान्डु