६०% हिस्सा उत्पादनको क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिँदै उनले यस्तो बताए ।
बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे, ‘तपाईंहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’

उनले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न आग्रह समेत गरे ।

‘तपाईंहरुका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु,’ मन्त्री शर्माले भने, ‘तपाईंहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।’

सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए ।

कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत् ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।


क्लिकमान्डु