सेबोनको जवाफबाट अर्थ समिति असन्तुष्ट, नेप्सेलाई पनि छलफलमा बोलाउने



काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टले नियामक निकायमा रहेका व्यक्तिका परिवार, धितोपत्र दलाल र लगानीकर्तासमेतलाई ओभर–द–काउन्टर (ओटिसी) सेयर बिक्री वितरण गरेको विषयमा संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले विस्तृत छानबिन अगाडि बढाउने भएको छ ।

आइतबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल गरेको समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुसँग पनि छलफल गर्ने भएको छ ।

आइतबारको छलफलमा धितोपत्र बोर्डका पदाधिकारीहरुले ओटिसी सेयर खरिदमा चलखेल गरेको विषयमा समितिले जवाफ मागेको थियो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना आफै जोडिएको यो प्रकरणमा ढुंगानाले आफु नबोल्ने भन्दै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई बोल्न लगाएका थिए ।

अधिकारीले ओटिसी प्रकरणमा बोर्डको धारणा भन्दै समितिमा लिखित जवाफ वाचन गरेका थिए । उनले धितोपत्र बजार सम्बन्धी विद्यमान कानूनी व्यवस्था र बोर्डका पदाधिकारीको आचारसंहिताले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणलाई पुष्टि गर्न नसक्ने बताएका थिए । उनले संचार माध्यामहरुले यो विषयलाई अतिरन्जित गरेको र आधारहिन तथ्य राखेर समाचार लेखेकोसमेत आरोप लगाएका थिए ।

अधिकारीको जवाफ पछि सांसदहरुले बोर्डका पदाधिकारीलाई थप र्याख्र्याख्ती पारे । समिति सभापति कृष्णप्रसाद दहाल र सांसदहरु रामकुमारी झाँक्री र प्रमिला राईले बोर्डका पदाधिकारीहरुले यस्तो गम्भीर विषयमा पनि टालटुल जवाफ दिएको र सञ्चारमाध्याममा आएका समाचार गल्ती हुन भनेर यत्तिकै भन्न नसकिने धारणा राखेका थिए ।

बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानाकी छोरीको नाममा भएको सर्वोत्तम सिमेन्टको सेयर खरिद बारे विस्तृतमा अध्ययन गरिनुपर्ने उनीहरुको भनाइ थियो ।

सांसदहरुको जवाफ दिने क्रममा बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले संचार माध्यामले भ्रमपूर्ण समाचार लेखेको, त्यसैका आधारमा अर्थ समितिले स्पष्टिकरण मागेको र अर्थ समितिले वास्तविकता नबुझि यो विषयमा सोधखोज गरेको बताए । ‘अहिले आएका समाचारमा भ्रमपूर्ण र तथ्यहीन छन् । समाचार माध्यामले लेखेकै भरमा अर्थसमितिले बोर्डका कुनैपनि पदाधिकारी माथि आपेक्ष लगाउन हुँदैन,’ उनले भने, ‘अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी सबै कारबाही भोग्न तयार छौं । अनुसन्धानमा पनि सघाउँछौं । के–के कागजात चाहिन्छ, भन्नुस, हामी समितिलाई उपलब्ध गराउँछौं ।’

केही संचारमाध्यामहरुले सस्तो लोकप्रियताका लागि तथ्यहिन समाचार लेखेको र अर्थसमिति पनि त्यसैमा अल्झिएको आशयको जवाफ श्रेष्ठले दिएपछि उनको अभिव्यक्तिप्रति सांसद जय कुमार राइले आपत्ति जनाए ।

उपकार्यकारी निर्देशक श्रेष्ठले आफ्नो मर्यादा बिर्सेर संसदीय समितिमा प्रस्तुत भएको भन्दै राइले उनको आलोचना गरे । ‘के अर्थ समितिले सस्तो लोकप्रियता र समाचार हुन्छ भनेर तपाईहरुलाई यहाँ बोलाएको हो ? कि तपाईहरुलाई हामीले प्रश्न गर्नै नपाउने हो ?, राइले भने, तपाईले यहाँको मर्यादामा आँच पुग्नेगरी जवाफ दिनुभयो । यसमा मेरो आपत्ति छ ।’

‘हावा नचली कसरी पात हल्लियो’ भन्ने प्रश्नको गम्भीर भएर जवाफ दिन पनि समितिले बोर्डका सदस्यलाई निर्देशन दिएको थियो । लगत्तै बोर्डका उपकार्यकारी निर्देशक श्रेष्ठले आफुले अनुसन्धान गरेर आरोप पुष्टि भएपछि मात्रै कसैलाई दोषी करार गर्न सकिने र अन्यथा बोर्डका सबै कर्मचारीलाई मुछ्ने र उनीहरुको मानमर्दन हुने गरी समाचार आएको विषयमा इंगित गरेको बताएका थिए ।

यो प्रकरणमा मुछिएका बोर्डका अध्यक्ष ढुंगानाले शुरुमा आफु नबोल्ने बताएपनि अन्तिममा भने बिहेबारी भएर अर्काको घरमा गइसकेको छोरीले कहाँ कस्तो कारोबार गरेको छ भनेर आफुसँग जोडेर हेर्न नहुने जिकिर गरेका थिए ।

‘मेरो छोरी र ज्वाँई अमेरिका बस्न थालेको ५ वर्षभन्दा बढी समय भयो । उनीहरुले के व्यवसाय गर्छन वा कता लगानी गर्छन् भनेर मसँग जोडिने कुरा होइन,’ उनले भने, ‘यहाँ भएका महिला सांसदहरुले के सबैकाम आफ्नो माइतीलाई सोधेर गर्नुहुन्छ र ?’

ढुंगानाले धितोपत्र बजार सम्बन्धी विद्यमान ऐन, कानून र आचार संहिताले यो विषयमा स्पष्ट पार्ने र आफ्नो कुनै कसुर नरहेको साबित हुने पनि जिकीर गरे ।

यस्तै, समितिले अर्को बैठकमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँद र पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने भएको छ । सर्वोत्तम सिमेन्ट ओटिसी सेयर खरिद प्रकरणमा साउँद पनि मुछिएका छन् ।


क्लिकमान्डु