२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइन सञ्चालनमा आउँदै



काठमाडौं । तेह्रथुम, संखुवासभा र भोजपुरमा निर्माण सम्पन्न हुन लागेका र भइसकेका आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु नपर्ने भएको छ ।

२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइनको केही खण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको अघिल्लो कार्यकालमा उनले सो प्रसारण लाइन निर्माणका लागि हदैसम्मको चासो लिएका थिए ।

प्रसारण लाइनको पूरा खण्ड निर्माण नसकिए पनि तत्कालका लागि ३३ केभी क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार २२० केभी क्षमताको प्रसारण लाइनलाई ३३ केभीमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो चरणमा तुम्लिङटार इनरुवा खण्डमा प्रसारण लाइनको टावर निर्माण तथा लाइन तान्ने काम सकिएको छ । आयोजना प्रमुख नवराज ढकालले इनरुवामा सवस्टेशन तयार नभएकाले तत्कालका लागि ३३ केभीमा सञ्चालन गर्न लागिएको हो ।

प्राप्त जानकारी अनुसार मंगलबारदेखि सो प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । हाल प्रसारण लाइनको परीक्षण भइरहेको छ । निजी ऊर्जा उत्पादकले प्रसारण लाइनको अभावमा बिजुली खेर जान लागेको भन्दै गुनासो गरेका थिए ।

सोही गुनासोलाई सम्बोधन गर्दै तत्कालका लागि क्षमता घटाएर भएपनि प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको हो । सो प्रसारण लाइनमा कूल ३२६ टावर निर्माण गर्नुपर्ने थियो । ती सबै टावर निर्माण सकिएको छ । इनरुवामा सवस्टेशन तयार नभएकाले हाल बिजुली भने चतरा लैजान खोजिएको छ । सो प्रसारण लाइन सञ्चालनमा आएपछि कूल ३३ मेगावाट बिजुली प्रणालीमा जोडिनेछ ।

प्राधिकरणले निजी क्षेत्रका ५१६ मेगावाट बराबरको बिजुली जोडनका लागि सो प्रसारण लाइन बनाएको हो । सो प्रसारण लाइनको सबै खण्ड पूरा भएपछि २ हजार मेगावाट बिजुली प्रवाह हुने प्राधिकरणको अनुमान छ । प्रसारण लाइन तथा सवस्टेशन निर्माणका लागि झण्डै १० अर्ब खर्च हुने अनुमान छ ।


क्लिकमान्डु