कमला–ढलकेबहर–पथलैया खण्डको डीपीआर तयार गर्न स्पेनको परामर्शदाता छनोट



फाइल तस्बिर

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढलकेबहर–पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) निर्माण प्रक्रिया अघि बढेको छ ।

कमला–ढलकेबहर–पथलैया सडक खण्डको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्पेनको एम÷एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्यान्ट छनोट भएको छ ।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले साउन २९ गते एम÷एस जोइन्ट भेञ्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्रयान्ट डीपीआर बनाउन लागि छनोट भएको भन्दै आसय पत्र जारी गरेको छ ।

सडक विभागको मूल्यांकनका आधारमा कमला–ढलकेबहर–पथलैयाको डीपीआर तयार गर्न स्पेनको परामर्शदाता योग्य देखिएको महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीदत्त भट्टले बताए ।
‘हाम्रो मूल्यांकनमा अन्य परामर्शदाताको चित्त बुझेको छैन भने दावी विरोध गर्न सक्छन् । यसका लागि १५ दिनको समय हुन्छ,’ भट्टले भने, ‘उक्त अवधिमा दावी विरोध नपरे सम्झौता प्रक्रिया अघि बढ्नेछ ।’

स्पेनिस कम्पनीले १० करोड ५० लाख ११ हजार रुपैयाँ र ९ लाख ८१ हजार अमेरिकी डलरमा डीपीआर तयार गर्नेगरी प्रस्ताव पेश गरेको छ ।

कमला–ढलकेबर–पथलैया सडकखण्डको डीपीआरका लागि महाशाखाले २०७७ जेठ २२ गते आशय माग गरेको थियो । जसमा ४२ वटा परामर्शदाताले प्रस्ताव बुझाएका थिए ।

प्राविधिक मूल्यांकनमा सबल देखिएका ८ परामर्शदातालाई प्रारम्भिक चरणमा सूचिकृत भएका थिए । तीमध्ये स्पेनिस कम्पनी प्राविधिक र आर्थिक रुपमा सबल देखिएकाले डीपीआर तयार गर्न छनोट भएको हो ।

हाल भइरहेको २ लेनको कमला–ढल्केबर–पथलैया सडक खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार गर्न खोजिएको हो ।

पूर्व–पश्चिम राजमार्गमा सवारी चाप बढ्दो छ । सवारीको चापलाई सम्बोधन हुनेगरी सडक बिस्तार गर्न खोजिएको हो । पूर्व पश्चिम राजमार्गलाई क्रमिकरूपमा बिस्तार गर्ने सरकारी योजना छ ।

कमला–ढल्केबर–पथलैया सडकखण्ड विश्व बैंकको सहयोगमा बिस्तार गरिनेछ । यसमा विश्वको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ ।

विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवद्र्धधन परियोजनाअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न २०७७ जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।

डीपीआर तयार भए पछि सडकको विस्तृत लागतको टुंगो लाग्छ । डीपीआरको जिम्मा पाउने परामर्शदाताले एक वर्षभित्रमा सडक र ७६ पुलको डीपीआर तयार गर्नुपर्छ । डीपीआर तयार भएसँगै बिस्तारका लागि ठेक्काको सूचना प्रकाशित गरिने भट्टको भनाइ छ ।

डीपीआरको समय एक वर्ष र निर्माणको समय तिन वर्ष रहेको छ । सम्भवत २०७९ सम्म डीपीआर तयार हुनेछ । लक्ष्य अनुसार काम भएकमा २०८५ सालभित्रमा कमला–ढल्केबर–पथलैया सडक खण्ड ४ लेनमा विस्तार हुनेछ । सडकलाई ४ लेनमा विस्तार गर्ने लक्ष्य राखिए पनि सहरी क्षेत्रको सडक भने ६ लेनको हुन्छ । सहरी क्षेत्रमा स्थानीय सवारीको चाप धेरै हुने भएकाले दुर्घटनालाई न्यूनिकरण गर्न ६ लेनको सडक बनाउन खोजिएको हो ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गर्ने सरकारको नीति पनि रहेको छ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व–पश्चिम राजमार्ग बिस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कमला–ढल्केबर–पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढलकेबर–पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढलकेबर–कमला २१ किमी सडक बिस्तार भएको थियो ।

शुरुवाती समयमा एक लेनमा यो सडक निर्माण गरिएको थियो । सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला–ढल्केबर–पथलैया सडक खण्ड बिस्तार हुनेछ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गकै बुटवल–नारायणघाट खण्ड र कमला–कञ्चनपुर खण्ड ठेक्का ठेक्का लागेर निर्माण भइरहेको छ । नारायणगढ–पथलैया, काँकडभिट्टा–लौकी र बुटवल–गोरुसिंगे खण्ड डीपीआरको तयार भइरहेको छ । कमला–ढल्केबर–पथलैया खण्ड बाहेक अन्य खण्ड एशियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गरिँदै छ ।


क्लिकमान्डु