चीनमा ७७ करोड ७० लाखलाई लगाइयो कोरोनाको खोप



एजेन्सी । चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ ।

एउटा मात्रै खोप लगाएकाहरुको संख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको संख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

हालसम्म चीनमा १ अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताए ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ ।

दक्षिण कोरियामा संक्रमित बढे

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार १ हजार नौ सय ९० जनामा कोरोनाको थप संक्रमण भएको बताइएको छ ।

बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमतिहरु १ हजार ९९० जना थपिएका बताइएको छ । योसँगै यहाँका संक्रमतिको संख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि १ हजार ६०० जनामा संक्रमण देखिने गरेको छ ।

बुधबार रातिसम्म यहाँ १ हजार ९८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

पहिले निकै थोरै संख्यामा मात्र संक्रमित थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । अहिलेसम्म यो भाइरसबाट २ हजार १४४ जनाको ज्यान गएको छ ।


क्लिकमान्डु