इलेक्ट्रोरल बण्ड जारी गरेर भारतीय जनता पार्टीले उठायो ४० अर्ब चन्दा



एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले झण्डै ४० अर्ब नेपाली रुपैयाँ बराबरको चन्दा उठाएको पाइएको छ ।

सो पार्टीले भारतीय निर्वाचन आयोगमा बुझाएको आव २०१९– २० को विवरणमा इलेक्ट्रोरल बण्ड जारी गरेर साढे २ हजार करोड भारु बराबरको आम्दानी गरेको उल्लेख छ ।

सो परिमाणको रकम आर्थिक २०१८–१९ को तुलनामा १४५० करोड भारु अर्थात् ७६ प्रतिशतले बढी हो ।

आव २०१९–२० को दौरानमा मान्यता प्राप्त १८ राजनीतिक दलले इलेक्ट्रोरल बण्ड जारी गरेर कूल ३ हजार ४४१ करोड भारु बराबरको धनराशी चन्दाबाट उठाएका छन् ।

सो रकममध्ये ७५ प्रतिशत बढी रकम भारतीय जनता पार्टीको खातामा पुगेको बीबीसी हिन्दीको एक आलेखमा उल्लेख छ । आव २०१९– २० मा इलेक्ट्रोलर बण्ड जारी गरेर काँग्रेसले ३१८ करोड बराबरको रकम संकलन गरेको थियो ।

काँग्रेसले कूल ९ प्रतिशत कम रकम प्राप्त गरेको छ । तृणमूल काँग्रेसले सो आवमा १०० करोड, डिएमकेले ४५ करोड, शिवसेनाले ४१ करोड, राष्ट्रवादी काँग्रेसले २० करोड, आम आदमी पार्टीले १७ करोड भारु र राष्ट्रिय जनता दलले २.५ करोड भारु बराबरको चन्दा प्राप्त गरेको थियो ।

भारतका धनीहरुले ५ हजार ८९६ करोड भारु बराबरको चन्दा दिने गरेको तथ्य सार्वजनिक भएको छ । चुनाव तथा राजनीतिक सुधारको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्था एडीआरका अनुसार आव २०१७-१८ तथा २०१९-२० बीच मान्यता प्राप्त दलले ६ हजार २०० करोडभन्दा बढी पेसा प्राप्त भएको थियो । त्यसमा ६८ प्रतशित हिस्सा भारतीय जनता पार्टीको मात्रै थियो ।

इलेक्ट्रोरल बण्ड राजनीतिक दलले चन्दा दिनका लागि जारी गरिने एक प्रकारको वित्तीय उपकरण हो ।

यो एक प्रतिवद्धतापत्र जस्तै हो । भारतका केही नागरिक ,कम्पनी , भारतीय स्टेट बैंकका छानिएका शाखामा खरिद गर्न सकिन्छ ।

आफूलाई मन परेको राजनीतिक दललाई कुनै परिचय नखुलाइकन दान गर्न सकिने व्यवस्था त्यसमा गरिएको हुन्छ । यो योजनामा भारतीय स्टेट बैंकले राजनीतिक दलका लागि पैसा दिने ध्येयले बण्ड जारी गर्न सक्छन् । त्यसमा कुनै दाताले बण्ड खरिद गर्न सक्छन् ।

सो चन्दाका बारेमा चर्को आलोचना भएपछि भारतको सर्वोच्च अदालतमा रिट निवेदन दायर भएपनि हालसम्म कुनै सुनुवाई भएको छैन । बण्ड रोक्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश माग गर्दै रोक लगाउन गरिएको माग समेत खारेज गरिदिएको छ ।


क्लिकमान्डु