टेलिकमको ‘फाइबर टु द होम’ सेवा ५४ जिल्लाका १ लाख ७२ हजारमा



काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवा ५४ जिल्लाका १ लाख ७२ हजारभन्दा बढी ग्राहक समक्ष बिस्तार गरिरहेको जनाएको छ । एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएचको पहुँच तीव्र गतिमा बिस्तार गरिरहेको टेलिकमको भनाइ छ ।

यसअघि २०७५ सालमा १ हजार ७३८ ग्राहकमा मात्रै यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकमा र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो । यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बाग्लुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि बिस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ । यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।


क्लिकमान्डु