कोकाकोलाको नाफा उल्लेख्यरुपमा बढ्यो



काठमाडौं । कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालको नाफा बढेको छ । नेपालमा कोकाकोलाको उत्पादन बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुबाट हुन्छ । यी दुबै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा बोटलर्स नेपाल तराईको नाफा ४२ करोड ६३ लाख रुपैयाँ छ जबकी कम्पनीले अघिल्लो आवमा जम्मा ५६ लाख रुपैयाँ मात्रै नाफा थियो ।

कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण कम्पनीको नाफामा अघिल्लो आवमा संकुचन आएको थियो ।

त्यसैगरी कम्पनीको सञ्चालन आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा सञ्चालन आम्दानी ६ अर्ब २८ करोड रुपैयाँ रहेकोमा अघिल्लो आवमा सञ्चालन आम्दानी जम्मा ४ अर्ब ६९ करोड रुपैयाँ थियो ।

त्यसैगरी बोटलर्स नेपाल बालाजुको आम्दानीमा पनि वृद्धि भएको छ ।

अघिल्लो आवमा ६ करोड १८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ४४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आवमा ६ अर्ब ८६ करोड रहेकोमा गत आवमा ८ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु