वित्तीय साक्षरतामा महत्वपूर्ण योगदान दिँदै यूकेएडको सक्षम प्रोजेक्ट सकियो



काठमाडौं । बेलायती सहयोग नियोग ‘सक्षम’ले नेपालमा आफ्नो प्रोजेक्ट पूरा गरेको छ । नेपालमा वित्तीय पहुँच बिस्तारका लागि बेलायतको सहयोगमा सञ्चालित सक्षमले ‘एक्सेस टु फाइनान्स’ कार्यक्रम सन् २०१४ देखि शुरु गरेको थियो ।

सक्षमले ७ वर्षको अवधिमा आफ्ना कार्यक्रम सञ्चालन गरेको थियो । बिहीबार भर्चुअल कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सक्षमको सहयोगले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्ट सिस्टममा नयाँ युगको शुरुवात भएको बताए ।

उनले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पूर्वाधार विकासका लागि बेलायत सरकारको थप सहयोग आवश्यक पर्ने समेत बताए ।

सक्षमको सहायोगमा नेपाल राष्ट्र बैंकले भुक्तानी प्राणालीमा महत्वपूर्ण मानिएको आरटीजीएस भित्र्याउन र कार्यान्यवनमा सफल भएको स्मरण गर्दै उनले भविष्यमा सक्षमसँग पुनः सहकार्य गर्ने अपेक्षा व्यक्त गरे ।

नेपालको ग्रामीण भेगसम्म समावेशी वित्तीय पहुँच बिस्तारका लागि सक्षमको महत्वपूर्ण भूमिका रहेका उनको भनाइ छ ।

विषेशगरी ग्रामीण भेगमा कृषि सम्बन्धी तालिम दिएर कृषकसम्म बैंकिङ पहुँच पुर्याउन सक्षमले खेलेको भूमिकालाई स्मरण गर्दै उनले धन्यवाद ज्ञापन गरे । आफू राष्ट्र बैंकको डेपुटी गभर्नर हुँदा आएको प्रोजेक्टमा आफूले पनि सहकार्य गर्ने मौका पाएको भन्दै नेपालको ग्रामीण अर्थतन्त्र उकास्न सहयोग पुगेको उनको भनाइ छ ।

सक्षमले नेपालमा वित्तीय पहुँच तथा साक्षरताका साथै साना तथा मझौला उद्योग बिस्तार, समावेशी वित्तीय पहुँच बिस्तारका साथै भूकम्पको समयमा समेत काम गरेको थियो ।


क्लिकमान्डु