आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना पेश गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

बिहीबार आन्तरिक राजस्व विभागसँगको छलफलका क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भनेका हुन् ।

‘चलिरहेको छ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपायहरु तपाई आफै फेला पार्नुहुनेछ,’ कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री शर्माले भने, ‘त्यसको लागि के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नैपर्दछ ।’

अर्थमन्त्री शर्माले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिर्ने संस्कृति विकास गर्ने खालको कार्ययोजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

‘करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,’ शर्माको निर्देशन थियो, हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

अर्थमन्त्रीले समग्र राष्ट्रको सम्पत्ति लेखा–जोखा गर्नुपर्ने आवश्यकतासमेत औंल्याए ।

‘देशको सम्पूर्ण साधन स्रोतको मूल्याङ्कन कति हो त? यसको हिसाब-किताब खोई ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाब-किताब गर्ने योजना पनि चाहियो,’ उनले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व देशकै प्राणरेखा रहेको भन्दै राजस्व संकलनको निर्धारित लक्ष हेरफेर हुने सम्भावना रहेको बताए ।

राजश्व समूहका कर्मचारीका लागि १० देखि ५ बजेसम्मको कार्यलय समय मात्रले नपुग्ने भएकोले थप जाँगर चलाएर काममा खटिन पनि मरासिनीले निर्देशन दिए ।

आन्तरिक राजश्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयहरु सबैले राजस्व संकलनमा देखिएका समस्याहरुको समाधान, प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयलाई काजगरहित बनाउन पनि उनले निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले गत आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले मात्र ४६ प्रतिशत योगदान गरेको बताए । गतवर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४ खर्ब ५० अर्बको लक्ष तोकिएकोमा ४ खर्ब २९ अर्ब संकलन भएको छ । चालु आर्थिक वर्षका लागि ५ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएको छ ।


क्लिकमान्डु