भारतमा दैनिक संक्रमितको संख्या बढ्दै, बेलायतमा ज्यान गुमाउने बढे



एजेन्सी । छिमेकी देश भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ संक्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ संक्रमित थपिएका थिए ।

केही दिन अगाडिसम्म दैनिक संक्रमितको संख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कम रहेको जनाएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ३ लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका संक्रमितको संख्यामा वृद्धि भएको छ ।

भारतमा अहिले ९७.४५ प्रतिशत मानिस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल संख्या ३ करोड १२ लाख ६० हजार ५० पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।

बेलायतमा कोरोनाबाट मर्ने बढे
कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रुपमा बढ्नथालेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।

बुधबारसम्म थप १४६ जनाको यो संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो । उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ । कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरियन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । यहाँ संक्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

एकैदिन २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेतगरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।


क्लिकमान्डु