अफगानिस्तानको सातौं प्रान्त तालिबानको कब्जामा, अर्थव्यवस्था चौपट



एजेन्सी । एकपछि अर्को गर्दै तालिबान लडाकू समूहले अफगानिस्तानको प्रान्तीय राजधानीहरु कब्जा गर्दै गएको छ । सरकारी सेना र तालिबानबीचको लडाईका कारण नागरिक संकटमा परेका छन् । अर्थव्यवस्था चौपट भएको छ ।

तालिबानले पछिल्लो पटक फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दावी गरेको छ ।

गत ४ दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ ।

यता अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताए ।

यद्यपि बाइडेनले अफगानिस्तानका लागि सङ्घर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताएका छन् ।


क्लिकमान्डु