कोरोनाले तयारी पोशाक निर्यातमा समस्या
काठमाडौं । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लक डाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।
उद्योगका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानका अनुसार कोरोनाका कारण उद्योगले कच्चा पदार्थ आयातमा समेत कठिनाईको सामना गरिरहनु परेको छ । तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकाले समेत उद्योग संचालनमा चुनौती बढेको प्रधानको भनाइ छ ।
तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगले समेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ । बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले विद्यालय तथा कलेजहरु बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ । कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत अवस्थामा संचालनमा आउनै नसकेको उसले जनाएको छ ।
सुनसरीमा रहेका अधिकांश उद्योगले कोरोनाका कारण उत्पादन कटौतीको समस्या झेलेका छन् । पटक-पटकको लक डाउन झेलेका त्यस्ता उद्योग पछिल्लो समय तेस्रो लहको जोखिम बढेकाले समेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन् ।