‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्ड



काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।

‘शुन्य मौज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको हो ।

मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकहरुका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।

साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैयाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुने बैंकको भनाइ छ ।


क्लिकमान्डु