अतिप्रभावित क्षेत्रका लागि विशेष राहात प्याकेज



काठमाडौं । सत्ता गठबन्धन गरेका राजनीतिक दल अर्थात् संयुक्त सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आइतबार संयुक्त रुपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारमा रहेका दलहरुको साझा कार्यक्रममा कोभिड १९ महामारीका कारण अति प्रभावित क्षेत्रका लागि छुट्टै राहत प्याकेज घोषणा गर्ने उल्लेख छ । कोभिड १९ महामारीमा नागरिकको जीवन रक्षा गर्ने कामलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको साझा कार्यक्रममा महामारीका कारण अति प्रभावित क्षेत्र र रोजगार गुमाएका श्रमिक लक्षित एकीकृत राहत प्याकेज लगाउने उल्लेख छ ।

सरकारको साझा कार्यक्रम सार्वजनिक गर्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले राहत तथा पुनरुत्थान कार्यक्रम सार्वजनिक गरिने बताए ।

‘महामारीका कारण अतिप्रभावित पर्यटन, होटल, मनोरन्जन, सिनेमा, व्यायमशाला जस्ता क्षेत्र र रोजगारी गुमाएका श्रमिकलाई लक्षित गरी राहत कार्यक्रम शीघ्र सार्वजनिक गरिनेछ,’ उनले भने ।

त्यस्तै बाढी, पहिरोलगायत प्राकृतिक विपत्तीमा परेकाहरुलाई पनि उद्दार, राहत र पुनस्र्थापनाका काम सरकारले तत्काल शुरु गर्नुपर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु