निजीका ४ करोड टुक्रा जमिन सरकारले किन्नुपर्छः बामदेव गौतम



काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता बामदेव गौतमले भूमिहिन तथा सुकुम्बासीको समस्या समाधान गर्न सरकारले जमिन किन्नु पर्ने बताएका छन् । राष्ट्रिय सभामा बोल्दै गौतमले जमिनमा निजी स्वामित्व अन्त्य गर्दै सरकारले नै जग्गा खरिद गर्नुपर्ने बताए ।

उनका अनुसार नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि छ । उक्त कृषियोग्य भूमि गत वर्षसम्म ४ करोड टुक्रा भएका छन् ।

‘टुक्रा जमिनमा कृषि उपज उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउन सकिदैन । निर्यातको कुरा असम्भव नै छ । टुक्रे जमिनलाई चक्लाबन्दी गर्नुपर्छ,’ गौतमले भने, ‘कृषि भूमिमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर उत्पादनमा नलगेसम्म देश आत्मनिर्भर हुन सक्दैन ।’

पहिले जमिनदारीकोे आधारमा कृषि भूमि वितरण गरिएको थियो । जमिनदारको नाममा कृषि भूमि छैन । अहिले निजी व्यक्तिहरुले रगत पसिना एक गरेर जमिन खरिद गरेका छन् । त्यो जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्छ ।

त्यस जमिनको पूर्ण उपयोग गर्न लिजमा दिने व्यवस्था गर्नुपर्छ । कृषि जमिनको उपयोग कुन ठाउँमा कसरी गर्ने भन्ने प्रणाली विकास नगरेसम्म भूमिहिन र सुकुम्बासीको जन्मने प्रक्रिया पनि बन्द गर्न नसकिने उनको दावी छ ।

‘भूमिहिनको समस्या समाधन गर्न संविधानले पनि आमरुपमा भूमि सुधार लागू गरेर सामाजिक न्यायमार्फत् भूमिहिन सुकुमबासी दलित,पिछडिएका जातीलाई आवासको सुनिश्चिता गरेर रोजगारी देउ भनेको छ । संविधनमै रोजगारी दिन सकिदैन भने केही जमिन देउ भनिएको छ । जमिन उपलबध गर्न सम्भव छैन भने रोजगारीको ग्यारेन्टी गर्नुपर्छ,’ उनले भने ।

उनले प्रत्येक भूमिहिन परिवारका कम्तीमा दुई सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्न सकियो भने उनीहरुको आर्थिक अवस्था सुधार हुने बताए । तर संविधानको भावना अनुरुप चल्न नसकिएको उनको भनाइछ ।

‘हामीले जसरी नै जमिनै वितरण गर्नुपर्छ भन्ने मान्यतामा अघि बढ्यौ । त्यसका लागि आवश्यक जमिन हामीसँग छैन । अवैज्ञानिक र असम्भव बाटोमा हामी हिड्न खोजिरहेका छौ । हामी आफै भूमि आयोग विघटन भएकोमा आन्दोलन गर्दैछौं र, फेरि अर्को आयोग बनाउन तयारी गर्दैछौं,’ उनले भने ।


क्लिकमान्डु