निजामति सेवामा ३३ वर्ष सेवा गरेर राजस्व सचिव पुडासैनी विदा



काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिवले ३३ वर्ष सेवा पुरा गरेर अवकास पाएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बिदाई गरे ।

शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

‘राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ,’ उनले भने ।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।

विदाई समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाई हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

विदाई मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व संकलनमा समेत सुधार आउने तर्क गरे ।

राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपुरक रहेको भन्दै उहाँले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए ।

सचिव पुडासैनीले भने, ‘हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।’ तीन दशकभन्दा लामो समय निजामति सेवामा विताउदाको अनुभव सुनाउदै उहाँले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताए ।

२०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताउएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवारदेखि सेवानिवृत्त हुँदै छन् ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित विदाई गरिएको थियो ।


क्लिकमान्डु