करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने



काठमाडौं । करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफै गर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत मात्रै गर्न निर्देशन गरेको हो ।

अहिले करदाताको स्थायी लेखा नम्बर (पान), इजाजतपत्र नम्बर उल्लेख गरेमा लाग्ने नवीकरण दस्तुर, दाखिला गर्नुपर्ने राजस्वको शीर्षकसहितको भौचर विभागको प्रणालीबाट तयार हुन्छ ।

उक्त भौचर बमोजिम विद्युतीय माध्यामबाट दस्तुर दाखिला गरेमा वा विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत लिई सोही दिन बैंकमा गई दस्तुर दाखिला गरेपश्चात नवीकरण हुने व्यवस्था रहेको छ ।

यसरी करदाताले पहिले बैंकमा गई भौचर बमोजिम इजाजत नवीकरण गर्न कार्यालयमा निवेदन दिने अहिलेको व्यवस्थाले कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकम आदिमा त्रुटी हुने सम्भावना रहन्थ्यो ।

यसरी गल्ती हुँदा दिनहुँ धेरै भौचरहरु संशोधन हुने गरेकाले करदाता र कर प्रशासन दुवैको समय र लागत बढ्ने र सेवा प्रवाह पनि झन्झटिलो हुने गरेको थियो ।

अब सबै काम अनलाइन प्रकृयाबाट हुने भएपछि यी झन्झट पनि हट्दै जाने विभागले जनाएको छ ।


क्लिकमान्डु