अर्थसमितिमा चर्काचर्की, सुरेन्द्र पाण्डेलाई बाबुराम भट्टराईको प्रश्न- ‘तपाईं किन बैंकको पक्षमा बोल्दै हुनुहुन्छ ?’



काठमाडौं । संघीय संसद अर्थ समितिका सदस्यहरुबीच बैंक तथा वित्तीय संस्थाको स्प्रेडदरबारे चर्काचर्की भएको छ ।

बैंक तथा वित्तीय संस्थाले महंगोमा कर्जा उपलब्ध गराएको र आम मानिसलाई त्यस्तो सुविधा लिन अप्ठेरो भएको भन्र्दै समितिका सदस्यबीच स्प्रेडदर घटाउने विषयमा चर्काचर्की भएको हो ।

पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेलाई अर्का पुर्व अर्थमन्त्री डा. बाबुराम भट्टराइबीच कर्जा र निक्षेपको ब्याजदरको अन्तर घट्नुपर्ने विषयमा चर्काचर्की भएको छ । राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समेट्नु पर्ने विषयमा सुझाव दिन समितिमा शुक्रबार छलफल चलेको थियो ।

सो छलफलमा भट्टराईले कर्जा र निक्षेपको ब्याजदर घटाउनुपर्ने बताएका थिए । भट्टराई पछि बोलेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरुको संचालन खर्च बढी भएकाले स्प्रेडदर त्यति पनि नभए उनीहरुले कसरी नाफा कमाउन सक्छन? भन्दै प्रतिप्रश्न गरेका थिए ।

पाण्डेले ब्याजदर तोक्ने जिम्मा बजारलाई नै छोड्नुपर्ने र कर्जा र निक्षेपको अन्तरबारे बैंकको नाफा, संचालन खर्च, कर्मचारी सेवा सुविधालगायत विषय बुझेर मात्र धारणा बनाउनुपर्ने बताएका थिए ।

लगत्त्तै भट्टराईले तपाईं बैंकको पक्षमा बोल्दै हुनुहुन्छ कि सर्वसाधारण जनताको पक्षमा बोल्दै हुनुहुन्छ भन्दै पाण्डेलाई प्रश्न सोधेका थिए ।

अर्थ समितिका अधिकांश सांसदले कर्जाको ब्याजदर निकै महंगो भएको र बिना धितो कर्जा प्रवाह हुन नसक्दा सर्वसाधारण जनता वित्तीय सुविधाबाट बन्चित हुनुपरेको धारणा राखेका थिए ।


क्लिकमान्डु