मौद्रिक नीति सार्वजनिक हुने मिति एक सातापछि सर्यो, बजेट संशोधन कुर्दै राष्ट्र बैंक



काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक हुने मिति एक साता पछि सरेको छ । शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक हुने भनिए पनि तयारी अपुग भएको भन्दै राष्ट्र बैंकले यसअघि तय गरेको मितिमा मौद्रिक नीति सार्वजनिक नगर्ने भएको हो ।

बजेट संशोधनमा ढिलाइ भएसँगै मौद्रिक नीति सार्वजनिक गर्न पनि ढिलाइ भएको हो । बजेटले ल्याउने वित्तीय कार्यक्रम तय नभएका कारण मौद्रिक नीति संशोधित बजेटपछि नै सार्वजनिक गर्ने तय भएको राष्ट्र बैंकका एक सञ्चालकले बताए ।

‘गभर्नर साबले अर्थमन्त्रालयबाट केही ग्रीन सिग्लन पाउनु भएर नै यही आइतबार/सोमबार सार्वजिनक गर्नुपर्ला भन्ने आधारमा सोहीअनुसार तयारी गर्न भन्नु भएको थियो,’ ती सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘अहिले बोर्डमा सरकारको प्रतिनिधि गर्दै नयाँ अर्थसचिव सञ्चालकमा आउनु भएको छ, उहाँसँगको छलफलपछि बजेपछि नै मौद्रिक नीति सार्वजनिक गर्ने निष्कर्षमा सञ्चालक समिति पुगेको हो ।’

अर्थसचिव मधु मरासिनीले राष्ट्र बैंकको सञ्चालकका हैसियतमा बुधबार सपथ ग्रहण गरेका थिए । उनी सञ्चालक भएपछि राष्ट्र बैंकमा पहिलो पटक बिहीबार बोर्ड बैठक बसेको थियो ।

बिहीबार बिहान ९ बजे शुरु भएको राष्ट्र बैंक सञ्चालक समितिको बैठक करिब ४५ मिनेटसम्म चलेको थियो । उक्त बैठकले औपचारिकरुपमा मौद्रिक नीति सार्वजनिकको मिति नतोके पनि साउन मसान्तसम्म ल्याउनसम्म आउने सम्भावना धेरै छ ।

‘बजेट संशोधनपछि नै मौद्रिक नीति ल्याउने अर्थसचिव मरासिनीज्यूले अनौपचारिक रुपमा बैठकमा कुरा राख्नु भएको छ’ उनले थपे, ‘लगभग संशोधित बजेट सार्वजनिक भएको तेस्रो दिनमा नयाँ मौद्रिक नीति सार्वजनिक हुन्छ ।’


क्लिकमान्डु