पद छाड्न तयार छु तर अन्याय भए अदालत जान्छुः प्राधिकरणका कार्यकारी निर्देशक शाक्य



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरिरहेका बेलामा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले पद छाड्न तयार रहेको बताएका छन् ।

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै शाक्यले आफूले सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै अन्याय भए अदालत जाने चेतावनी समेत दिए ।

‘सरकारलाई सहयोग गर्न अर्को कुनै ठाउँमा काम गर्ने गरी पद छाड्न तयार छु, तर मलाई अन्यायपूर्वक हटाउन खोजियो भने अदालत जान्छु, ’ उनले भने ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नका लागि प्रक्रिया अगाडि बढाउनका लागि उर्जामन्त्री फम्फा भुसाललाई निर्देशन दिएको समाचार बाहिर आएको थियो । साथै कार्यकारी निर्देशक शाक्यलाई पनि राजीनामा दिन आग्रह गरेको समाचार प्रकाशित भएको थियो ।

यसै सन्दर्भमा बुधबार शाक्यले पत्रकारहरुसँग कुराकानी गरेका थिए ।

शाक्यले आफ्नो कार्यकालमा ढल्केबहर सवस्टेसन सञ्चालनमा ल्याएको, दाना–कुश्माको २२० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा ल्याएको, त्रिशुली–समुन्द्रटारको १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा ल्याएको समेत बताए ।

उनले कोरोना महामारीका कारण विद्युत् चुहावट रोक्न नसकिएको समेत स्वीकार गरे ।


क्लिकमान्डु